महोत्तरीमा सर्पदंशका घटना बढ्न थाले

महोत्तरी – महोत्तरीमा सर्पदंशका घटना बढ्न थालेका छन् । असार पहिलो हप्ताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबास, महोत्तरीले जनाएको छ । गर्मीसँगै मनसुन भित्रिएर पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना पनि बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीमा सहभागी प्राविधिक प्रमुख भोला चौधरीले बताउनुभयो ।
गर्मीमा शितल खोज्दै र जमिन भित्र पानीले भरिँदा सर्प बाहिर निस्कने र यो बेला सर्पदंशका घटना बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । गएको वैशाखमा ५२ र जेठमा ८५ दर्पदंशका घटना भएकामा ६५ वटा विषालु सर्पले डसेका रहेको केन्द्रले जनाएको छ ।
बर्दिबास केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । सर्पले टोकेपछि उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन् । रासस