Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

बाँकेमा गरिएको कोदो खेतीको परीक्षण सफल : तराईमा पनि खेती गर्न सकिने विज्ञको भनाइ

बाँके – बाँकेमा गरिएको कोदो खेतीको परीक्षण सफल भएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीको गाभर भ्यालीमा कोदो खेतीको परीक्षण गरेको हो ।

गएको साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ । दैलेखबाट बसाइ सरी बाँके झरेका रामबहादुर बुढाले यसअघि बितेको झण्डै दुई दशकमा कोदो खेती भएको नदेखेको तर अहिले गाभर भ्यालीमा कोदो फलेको देखेपछि खेती गर्न सकिने रहेछ भन्ने लागेको बताउनुभयो ।

विशेषगरी पहाड र हिमालको चिसो मौसममा उत्पादन हुने कोदो बाली गर्मी हुने तराई क्षेत्रमा पनि खेती विस्तार गर्न सकिने उच्च सम्भावना देखिएको विज्ञले बताएका छन् ।

सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा धेरै जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो । त्यसमा एक/दुई प्रजातिबाहेक अरु प्रजातिको खेती सफल भएको छ ।

बस्नेतका अनुसार मङ्सिरको पहिलो हप्ता कोदो काट्ने तयारी छ । बाँकेमा कोदो खेतीको परीक्षण नतिजा सफल भएपछि उत्साहित बनाएको उहाँले बताउनुभयो । आउँदा दिनमा तराईमा पनि कोदो उत्पादन गर्न सकिने सम्भावना देखिएको बस्नेतको भनाइ छ ।

उहाँका अनुसार पाँचवटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्राविधिकसँगको समन्वयमा परीक्षण गरिएको हो । रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको उहाँको भनाइ छ ।

२०७८ सालमा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरिएको थियो । जिन बैङ्कका सचिव कृष्ण चौधरीले गाभर भ्यालीमा कोदो खेतीको सम्भावना देखिएकाले परीक्षण गरिएको र त्यो सफल भएको बताउनुभयो ।

जिन बैङ्कले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com