Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गौतमबुद्ध रंगशालाका लागि बागमती सरकारले गर्‍यो ५२ करोड ५० लाख बजेट सुनिश्चित

२३ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।

चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेको छ । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन् ।

बागमतीको मन्त्रिपरिषद् बैठकले अघिल्लो आर्थिक वर्षमै सम्पन्न भएका आयोजनाहरुको ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रकम पनि भुक्तानी दिने निर्णय गरेको छ । मुख्यमन्त्री जम्कटेलका अनुसार विशेष गरी भौतिक पूर्वाधारसँग सम्बन्धित आयोजनाहरुको करिब ४० करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको समपूरक र विशेष अनुदानका लागि १०–१० वटा आयोजना पनि सिफारिस गरेको छ । समपूरकतर्फ संघीय सरकार र प्रदेश सरकारको सहलगानी रहनेछ भने विशेष अनुदानका योजनामा संघीय सरकारको एकल लगानी रहनेछ । अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com