Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

एसिया कप छनोट फुटबलमा ज्योतिषीले छानेका थिए भारतीय खेलाडी

२६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमले सन् २०२२ को जुन ११ तारिखमा एसिया कप छनोट अन्तर्गत अफगानिस्तानसँगको खेलमा ज्योतिषीको सल्लाहमा खेलाडी चयन गरिएको दाबी भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले गरेको छ ।

द इण्डियन एक्सप्रेसका अनुसार भारतीय फुटबल टिमका प्रशिक्षक इगोर स्टाइमाकले अफगानिस्तानसँगको खेलअघि ज्योतिषी भूपेश शर्मासँग सम्पर्क गरेर उनले भनेजस्तै गरेर खेलाडी चयन गरेका थिए ।

भारत र अफागानिस्तानको खेलभन्दा ४८ घन्टाअघि ९ जुन, २०२२ मा स्टाइमाकले ज्योतिषी शर्मालाई संभावित ११ खेलाडीको नामसहितको सन्देश पठाउँछन् । जसमा लेखिएको थियो, ‘प्रिय मित्र ११ जुनका लागि हरेक खेलाडीको भाग्य हेरिदिनुहोस्, खेल सुरु हुने समय बेलुकीको साढे ८ बजे हो ।’

एक घन्टामा नै ज्योतिषी शर्माले आफ्नो टिप्पणी पठाउँछन् । जसमा कुनै खेलाडीलाई साह्रै राम्रो, कुनैलाई धेरै राम्रो गर्न सक्छ, केहीलाई आत्मविश्वास कम गर्नु आवश्यक छ त केहीलाई औसतभन्दा पनि खराब दिन छ, यस दिनका लागि सिफारिस गर्न सकिँदैन भनिएको थियो ।

११ जुनका दिन खेल सुरु हुनुअघि प्रशिक्षकले ज्योतिषीको सल्लाह अनुसार राम्रो भनेका खेलाडीलाई खेलाएका र जसको दिन राम्रो छैन भनेका थिए उसलाई बेञ्चमै राखेको दाबी पत्रिकाले गरेको छ । यो खेल भारतले २–१ जितेको थियो ।

ज्योतिषीसँग प्रशिक्षको यस्तो संवाद पहिलो पल्ट भएको थिएन । क्रोएसियाली मुलका प्रशिक्षक र ज्योतिषीबीच मे र जुनमा धेरै पटक यस्तो सन्देश आदानप्रदान भएको थियो । यो बीचमा भारतले ४ वटा खेल खेलेको थियो । हरेक खेलअघि प्रशिक्षक स्टाइमाक ज्योतिषी शर्मासँगको सम्पर्कमा थिए ।

२०२२ को मेमा भारतले जोर्डनसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने एसिया कप छनोटमा जुन ८ मा कम्बोडियासँग, जुन ११ मा अफगानिस्तानसँग र १४ जुनमा हङकङसँग खेलेको थियो । घरेलु मैदान कोलकतामा भएको एसिया कप छनोटका तीनवटै खेल भारतले जितेको थियो ।

पत्रिकाका अनुसार भारतीय फुटबल महासंघ एआईएफएफका महासचिव कुशल दासले प्रशिक्षकसँग ज्योतिषीको चिनजान गराइदिएका थिए । दासले यसलाई स्वीकार पनि गरेका छन् । एआईएफएफले परामर्श शुल्क भन्दै ज्योतिषीलाई १२–१५ लाख रुपैयाँ भुक्तान पनि गरेको द इण्डियन एक्सप्रेसको दाबी छ । अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com