Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मकवानपुर पहिरोमा बेपत्तामध्ये दुईजना मृत फेला, तीनजना अझै भेटिएनन्

मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जना मृत फेला परेको छ।

मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले  जानकारी दिए।

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो। यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो। उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो। घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

यस्तै उक्त पहिरामा परेर तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन्।

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। पहिरामा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मङ्गलबार नै मृत्यु भएको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com