Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नाम दर्ता गराएको ११ महिनापछि अस्पतालबाट फोन आउँदा…

राप्ती प्रादेशिक अस्पतालमा थपिए ८ वटा डायलासि

facebook sharing button

सल्यान दार्माका धनबहादुर सार्कीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस सेवा गराउनका लागि नाम दर्ता गरेको वर्ष दिन पुग्दै थियो। 

आफ्नै जिल्लामा सेवा पाउन नसके पनि सार्कीलाई सल्यानबाट दाङको तुलसीपुरमा त सेवा पाइन्छ भन्ने विश्वास थियो। तर, उनले पाउन सकेनन्। आवश्यक जनशक्ति र उपकरण अभावका कारण राप्ती प्रादेशिक अस्पतालले पनि धेरै त्यस्ता बिरामीलाई एकै साथ सेवा दिन सक्ने अवस्था थिएन।  

त्यसैले उनी तुलसीपुरमा सेवा नपाएपछि कहिले जिल्लाको घोराही र लमहीसम्म पुगेर डायलासिस गराउन बाध्य थिए।  

करिब दुई हप्ता पहिले मात्रै राप्ती प्रादेशिक अस्पतालका स्टाफ नर्सले धनबहादुरलाई फोन गरे। 

अबदेखि तुलसीपुरमै डायलासिस गराउनका लागि आउन आग्रह गरे। 

नाम दर्ता गराएको ११ महिनापछि अस्पतालबाट फोन आएपछि धनबहादुर खुसी भए।

पछिल्लो समय उनले तुलसीपुरमै डायलासिस गराउँदै आएका छन्।  

‘हामी सल्यानबाट सोझै आउने तुलसीपुरमै हो,’ उनले भने, ‘यहाँ सेवा नपाएपछि कहिले घोराही र कहिले लमही जानु पर्दा थप सास्ती खेप्नु परेको थियो।’

ती ठाउँमा जाँदा लागत खर्च बढ्ने र समय पनि बर्बाद हुने उनले बताए। 

आफ्नै जिल्लामा सेवा नपाए पनि तुलसीपुरमै सेवा पाउँदा धेरै सहज भएको उनले प्रतिक्रिया दिए। 

‘डाक्टरहरू अलि समय समयमा हाम्रो अवस्था हेर्न आउनु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘मलाई अन्यत्र भन्दा यहाँ अलि राम्रो सेवा पाइन्छ भन्ने आशा छ।’

पहिले २२ जना यस्ता बिरामीले तुलसीपुरमा सेवा लिँदै आएका थिए। 

यो अस्पतालमा नयाँ उपकरण आएको एक वर्षपछि डायलासिस मेसिन जडान भएका छन्। जसले गर्दा थप २० जना बिरामीले सेवा पाउन थालेका छन्।

गत वर्ष साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती प्रादेशिक अस्पतालका लागि भनेर आठ वटा मेसिन पठाएको थियो। तर, जडान गर्दा लाग्ने खर्च र थप जनशक्ति पठाएको थिएन। त्यही भएर ती मेसिन त्यसै थन्किएका थिए। उपयोगविहीन भएपछि तीन वटा मेसिन बाँके लगिएको थियो।

पछिल्लो समय लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले मेसिन जडान गर्नका लागि आवश्यक पर्ने २५ लाख रुपैयाँ रकम दियो। त्यसका साथै दश जना स्टाफ नर्स र दुई जना कार्यालय सहयोगी पनि  पठाइदिएको छ। 

यसअघि डायलासिस मेसिन आए पनि ती जडान गर्न चाहिने रकम नपठाएको हुँदा अहिले रकम आएपछि मात्रै मेसिन जडान गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालले जानकारी दिए।

यसअघि उपयोगहीन भएपछि राप्ती प्रादेशिक अस्पतालका लागि भनेर ल्याइएको तर उपयोगका लागि बाँके लगिएको तीन वटा मेसिन पनि अहिले फिर्ता ल्याएर तुलसीपुरमै जडान गरिएको उनले बताए।

मेसिन जडान भएसँगै बिरामीलाई सेवा दिन सहज भएको निमित्त मेसु अर्यालले जानकारी दिए।

पछिल्लो समय यो अस्पतालमा नयाँ आठ वटा मेसिन जडान गरिएँगै डायलासिस मेसिनको संख्या १३ पुगेको छ।

यस अघि अस्पतालका पाँच वटा मेसिनमध्ये एउटा बिग्रिएको हुँदा चार वटा मेसिनबाट मात्रै डायलासिस हुँदै आएको थियो। ती मेसिनबाट २२ जनाले मात्रै सेवा पाउने गरेका थिए।

आठ नयाँ मेसिन जडान गरिएपछि अबदेखि राप्ती प्रोदशिक अस्पताल तुलसीपुरमा १२ वटा मेसिनबाट डायलासिस सेवा दिन सम्भव भएको  निमित्त मेसु  अर्यालले बताए। 

‘यसअघि २२ जना बिरामीको नियमित डायलासिस हुँदै आएको थियो,’ उनले भने, ‘मेसिन थपिएसँगै २० जना बिरामी पनि थपिएका छन् र अब ४२ जनालाई त्यो सेवा दिइने छ।’

बिरामीको अवस्था हेरी कतिपयलाई  हप्तामा तीन पटकसम्म डायलासिस दिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

यसअघि अस्पतालमा  चार जना मात्रै नर्सिङ स्टाफ रहेकोमा पछिल्लो समय स्वास्थ्य मन्त्रालयले थप दश जना नर्सिङ स्टाफ पठाइदिएको छ। 

अब डाइलासिसमा काम गर्ने नर्सिङ स्टाफको संख्या १४ पुगेको छ। 

त्यस्तै, यसअघि एक जना मात्रै कार्यालय सहयोगी रहेकोमा अहिले थप दुई जना आएपछि  काम गर्न सहज भएको अस्पताल प्रशासनले बताउँछ।   

अस्पतालका जिन्सी शाखाका प्रमुख रश्मी अधिकारीले थप दुई वटा मेसिन बिग्रिएको हुँदा काठमाडौंबाट सामान आइरहेको जानकारी दिए। ती सामान आइपुगेपछि १३ वटै मेसिन फुल फेजमा सञ्चालनमा आउने उनले बताए।

तीन सिफ्टमा सबै मेसिन सञ्चालन गरेमा तुलसीपुरमै ६० जना बढीलाई सेवा दिन सकिने उनले अनुमान गरे।

५० बेडको मात्रै स्वीकृति भए पनि राप्ती प्रादेशिक अस्पतालमा हाल एक सय ३५ बेड सञ्चालनमा छन्। 

दैनिक कम्तीमा पनि दुई सय ५० बढी बिरामी सेवा लिन आउने गरेको यो अस्पताल पश्चिम दाङका साथै रोल्पा, सल्यान र रूकुमका बिरामी पनि उपचार गराउन आउने गर्छन्।

यो अस्पतालमा डाक्टर, नर्स र अन्य कर्मचारीसमेत गरी दुई सय ३४ जना कार्यरत छन्। तीमध्ये ३८ जना डाक्टर र ७६ जना नर्सिङ स्टाफ र अन्य कर्मचारी छन्। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com