Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

तीस वर्षअघिको त्यो घटना सुनाउँदै उनले भने- मलाई दैव र दशा एकैपटक लाग्यो

विपत्तिको कुरा सुन्नेबित्तिकै सरोजकुमार खनाल झस्याङ्ग हुन्छन्। उनले बाढी पहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनुपर्ला भनेर कहिलै सोच्नु भएको थिएन।

मकवानपुर जिल्लाको तत्कालीन पालुङ गाविस–९ फेदीगाउँमा बाढीपहिरोको परिवेशलाई सम्झँदा उनी भक्कानिन्छन्। 

फेदीगाउँमा एक सातासम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढी–पहिरोले आँखै अगाडि गाउँ नै बगाएको देख्दा उनलाई असैह्य पीडा भएको थियो।

बाढी पहिरो जाने कुनै सम्भावना नभएको उक्त ठाउँमा विनाशकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ उनलाई।

कुरा विसं २०५० को हो। साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारिपट्टि रहेको तत्कालीन विकास घरमा बसेर काम गरिरहेका थिए। दिउँसो ४ बजेतिर यति ठूलो पानी पर्‍यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका छैनन्। 

मुसलधारे वर्षाका कारण खनाल घर जानसक्ने अवस्थामा हुनुहुन्थेन।

उनी भन्छन्,‘वर्षाले ठूलै विपत्ति ल्याउनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो। रातभर पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटिरहें।’

चारैतिर मुसलधारे पानीको वेग बढेपछि शारीरिक रूपमा र मानसिक रूपमा उनमा चिन्ता बढ्नु स्वाभाविक थियो। बिहान उज्यालो भएपछि उनी बाढीको प्रवाह नगरी आफ्नो घरतिर लागे। जब उनी घरमा पुगे, त्यहाँ न उनले न घर देखे, न परिवार नै।

उनको घर परिवारलाई रातको ठूलो वेगमा आएको बाढीसँगै बगाइसकेको थियो। बिहान घरमा पुग्दा परिवार पुरिएका थिए, गाई वस्तु केही पानीमा तैरिएको थिए भने धेरै पुरिएको अवस्थामा थिए। खाद्यान्न नगदसँगै खनालको आफ्नो शरीरमा भएको एकसरो कपडाबाहेक केही बाँकी रहेनन्। उनको होस हरायो, केहीबेर अचेत बने।

जीवनमा यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका उनी केहीबेर त लडीबुडी गर्दै रूने कराउने गरे। तर उनको त्यो चित्कार सुन्ने कोही थिएन। रातभर घरपरिवारमा केही नहोस् भनेर भगवानसँग गरेको प्राथनाको कुनै अर्थ रहेको थिएन। 

बाढीले उनको बाबु, आमा, श्रीमती, भाउजू, दुई भाइ, दुई भतिजा, आफ्ना तीन बच्चा गरी ११ जनालाई खोसेर लगेको थियो। तीस वर्षअघिको घटना सुनाउँदै उनी भन्छन् ‘मलाई दैव र दशा एकैपटक लाग्यो।’

बाढी–पहिरोले यसरी सर्वस्व लैजाला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। अग्लो डाँडामा घर भएको र तल सानो दुईवटा खोल्सा थिए। यही खोल्सामा बगाएर ल्याएका उत्तिसका रूखका जराहरू अडकेर पानी बारिएर पोखरी बन्न पुग्यो। एक्कासि बाँध फुटेर आउँदा घर बगाएको हुनसक्ने तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टको अनुमान छ। 

‘डाँडोको बीचमा भएको खोच भरिदै आएर फुटेपछि यसबाट निस्केको वेगले नै घर बगाएको हुनसक्छ’, उनले भने।

आखिर विपद्लाई सहनुबाहेक उनीसँगको अर्को विकल्प पनि थिएन । उनको यस्तो दुर्दशामा सिंगो गाउँ नै रोइरहेको अवस्थामा सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले गोठमा ओत लगाए। यतिका समय बितिसक्दा पनि उनले परिवार गुमाउनुको पीडाले छोडेको छैन। 

खनाल मात्रै होइन, त्यतिबेलाको विपत्तिमा फेदीगाउँ निवासी हर्कबहादुर तामाङ पनि बाढीपहिरो प्रभावित व्यक्ति हुन्। उनी त्यसबेलाको कहालीलाग्दो अकल्पनीय बाढीपहिरो प्रत्यक्षदर्शीसमेत हुन्। यसरी गाउँ नै सखाप पार्ने गरी बाढी आउला भन्ने उनको मनमा पनि कहिल्यै आएको थिएन। तर ‘हुने हार दैव नटार’ भने झैं प्रकोपको त्यो बेगले हर्कबहादुरका अगाडि केही लागेन। अन्ततः धेरै घरहरू आफ्नै आँखा अगाडि बगेको देख्दा उनले केही गर्न सक्ने कुरा थिएन। 

बाढी पहिरो आउँछ, सचेत हुनुपर्छ भन्ने खासै सचेतना नपाएका हर्कबहादुरलाई कसरी सुरक्षित बस्ने, पूर्व सूचनाका बारेमा कुनै जानकारी पनि थिएन। उनी भन्छन्, ‘त्यतिबेला सूचना दिने चलन पनि थिएन, बाढी आउँछ बगाउँछ भन्ने थाहा भइदिएको भए त गाउँका धेरैलाई बचाउन सकिने थियो कि।’’ 

बेला हर्कबहादुरको परिवार फेदीगाउँको स्कुल नजिक बस्ने गरेको थियो। सामान्य परिवारका उनी खेती किसानी तथा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका थिए। फेदीगाउँमा ढुङ्गामाटोका घरहरू रहेकाले उनीहरू आफनो घर सुरक्षित रहेको महसुस  गर्थे। हर्कबहादुरलाई पनि यस्तै लागेको थियो। स्कुलसँग जोडिएको घर भएका उनले बाढी आउनासाथ हत्तपत्त परिवारलाई स्कुलभित्र राखे। त्यहीकारण अकालमा ज्यान गुमाउन नपरेको उनी बताउँछन्।

आफूले परिवार नगुमाए पनि अरूको परिवार गुमेको देख्दा उनको मन थाम्ने अवस्था थिएन। बाढीले आफ्नै आँखा अगाडि घर बगायो, अन्नपात, खसीबोका सबै बगाएको थियो । 

त्यो बेलामा परेको मुसलधारे पानी आफूले अहिलेसम्म अनुभव नगरेको उनी बताउँछन्। त्यस रातको स्मरण गर्दै उनी भन्छन् ‘चट्याङसहित मुसलधारे वर्षाले त्रसित बनाएको थियो। छिमेकका कुनै घरहरू देखिएका थिएनन्।

बिहान उज्यालो भएपछि हेर्दा गाउँमा रहेको स्कुलबाहेक सबै घरहरू बाढीले लगेको थियो। गाउँ पूरै बगरमा परिणत भएको थियो।

घर गोठहरु रहेका ठाउँमा ठूलाठूला ढुङ्गाहरू थुप्रिएको थियो। गाउँमा दुईतिर स–साना दुई वटा खोल्सा थिए। यी खोल्साहरू भरिएर दुबै तर्फबाट बाढी आएको थियो।’

हाल सो ठाउँ थाहा नगरपालिका–२ मा पर्दछ। नगरपालिका क्षेत्रभित्र भए पनि फेदीगाउँको मुहार फेरिएको छैन।

नगरपालिकाका पूर्व प्रमुख लवसेर विष्टले फेदीगाउँ पुनःनिर्माण र बाढीपहिरो नियन्त्रण गरी सुरक्षित गाउँ बनाउने अभियानले अझै पूर्णता पाउन नसकेको बताउँछन्। अहिले पनि फेदी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ। 

हर्कबहादुर जस्तै उतिबेलाको यो विपत्तिका शिकार भएका मकवानपुरको तत्कालीन आग्रा गाविस–८ निवासी डम्बरबहादुर रुम्बासँग पनि यस्तै विपत्तिको कथा छ।

घरबाट विद्यालय जाने क्रममा खोला तर्दा कापी किताब र चप्पल खोलाले बगाएपछि उहाँको स्कुल जाने चाहना पूरा हुन पाएन। 

१३ वर्षको उमेरमा अध्ययनलाई विट मार्दै पैसा कमाउन उनी काकाको साथमा राजधानी काठमाडौं छिरे।

गरिबीका कारण पढ्न लेख्न समस्या भएको बताउने हर्कबहादुर तीन दिन पैदल यात्रा गरी राजधानी काठमाडौं पुगे।

काठमाडौंको कलङ्कीको एउटा होटलमा भाडा माज्ने काम पाए। काम पाएपछि पैसा कमाएर परिवारलाई सुखी राख्छु भन्ने सोच पालेका उनको सपना त्यो दिन लुटियो जुन दिन गाउँमा भीषण पानी परेको थियो।

२०५० साउन ४ गते रूम्बा आफनो जीवनको कालो दिन सम्झँदै भन्छन्, ‘बाढीले उहाँको परिवारमा आमा, बुबा, एक दिदी, दुई भाइ र एक बहिनीलाई बगाएको थियो। मलाई अहिले पनि त्यो दिन कहिल्यै बिसर्न नसक्ने कालो दिन भएको छ।’ 

उनी राजधानीमा भएका कारण बाँच्न सकेका थिए। राजधानीमा काम गर्न थालेको झण्डै आठ महिना भएको थियो। यसबीचमा परिवारसँग देखभेट भएको थिएन। बाढीले घरपरिवारसँगै उनकोे घरमा भएको अन्नपात, छ वटा खसी एउटा बोको पनि बाँकी रहेनन् र २१ रोपनी खेत पनि बाढीले पुरेर काम गर्न नसक्ने बनाइदियो।

काठमाडौंबाट धादिङको महादेवबेंसीमा आइपुग्दा आफूलाई परिवार बाढीमा पुरिएको खबर एकजनाले सुनाएपछि अब एक्लो के बाँच्नु भनेर पुलबाट हामफाल्ने सोच उनमा नआएको पनि होइन। कसैले त्यसो गर्न रोकेपछि चार दिन हिँडेर गाउँ आइपुगेका उनी गाउँ पुग्दा गाउँलेहरूले लास निकाल्ने कार्य गरिरहेको देख्दा उनी निकै भावुक बने। तेह्र वर्षको कलिलो उमेरमा टुहुरो बन्नु पर्दा उनलाई संसार निकै बिरानो लाग्नु स्वाभाविकै थियो।

अहिले पनि उनलाई पटक–पटक त्यतिबेलाको वीभत्स अवस्थाले झस्काउने गर्दछ। वर्षायाम सुरू भएसँगै फेरि पनि त्यस्तै विपत्ति आइलाग्ने हो कि भन्ने त्रासले उनलाई छाडेको छैन। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com