Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

दाङमा जातका कारण तीन दिनमै डेराबाट निकालिए महेन्द्र

अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र बिक असार १२ गते दाङको घोराही आए।

डेरामा बसेर कोरियन भाषा पढ्न उनी श्रीमती र दुई बच्चासहित उनी घोराहीमा पुगेका थिए।

साथीहरूसँग सम्पर्क भएकाले उनी अछामबाट घोराही आएका हुन्।

हुम्लाको अदानचुली गाउँपालिका- ३ का २३ वर्षीय अंगराज नेपाली पनि घोराहीमै डेरामा बसेर कोरियन भाषा सिक्दै आएका थिए। अंगराजलगायत अन्य तीन जना साथी घोराही उपमहानगरपालिका- १७ स्थित ६८ वर्षीय ताराप्रसाद पोखरेलको घरमा भाडामा बस्दै आएका थिए।

अंगराजसँगै मुगुको सोरू गाउँपालिका- १ का १८ वर्षीय सृष्ट नेपाली र हुम्लाको अदानचुली गाउँपालिका-३ का १७ वर्षीय लोकेन्द्र नेपाली पनि बस्दै आएका थिए। सृष्ट घोराहीस्थित कृष्ण सेन प्राविधिक शिक्षालयमा कृषि पढ्छन् भने लोकेन्द्र एसइई दिएर फुर्सदको समयमा घोराहीमा आएका थिए।

अंगराजसहित तीन साथीहरू करिब डेढ महिनादेखि  ताराप्रसादको घरमा भाडामा बस्दै आएका थिए। त्यहाँ अरू कोठा पनि खाली थिए। अंगराजकै सम्पर्क र सल्लाहले महेन्द्र परिवारसँग पोखरेलकै घरमा भाडामा बस्न थाले।

दुई दिन पनि बस्न नपाउँदै ताराप्रसादले महेन्द्रलाई हेयको दृष्टिले हेर्न थाले। कारण अरू केही थिएन,  महेन्द्र दलित समुदायका भएकाले हो।

तेस्रो दिन बिहानै ताराप्रसादले महेन्द्रलाई कोठा खाली गरेर अन्यन्त्र जान उर्दी जारी गरे। यो असार १५ गते बिहानको कुरा हो।

महेन्द्र सोधे- के भयो घरबेटी बा? यी कलिला बालबच्चा लगेर म कहाँ जाउँ?

उनले कोठाबाट ननिकाल्न अनुनय पनि गरे। तर ताराप्रसादले महेन्द्रको कुरै सुनेनन्। साँझपख कोठाबाट सामान बाहिर निकालिदिए।

जातकै कारण तीन दिनमै बसेको घरबाट निकालिएपछि महेन्द्र दिक्दार बने। उनले आफ्नो सर्कलका चिनजानका साथी-भाइसँग आफूमाथि भएको अन्यायबारे अवगत गराए।

दलित अधिकारकर्मी र पत्रकारसम्म कुरा पुग्यो। आफूले भोग्नु परेको जातीय विभेदका विरूद्ध महेन्द्रले प्रहरीमा ठाडो उजुरी दिए। ताराप्रसादविरूद्ध प्रहरीमा पुगेर महेन्द्रले सोही लिखित जाहेरी दिएपछि प्रहरीले शनिबार ताराप्रसादलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ताराप्रसादले कोठा माग्दा महेन्द्रले आफू कँडेल थरको भएको भनेर झुट बोलेको प्रहरीलाई बयान दिएका छन्।

महेन्द्र दलित समुदायको भएको चाल पाएपछि ‘देउताले आफूलाई नसहने’ भन्दै ताराप्रसादले घरबाट निस्कन भनेको बयान दिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।

‘तिमीहरू जस्तो दलितलाई म बाहुनले बस्नका लागि घर भाडामा दिँदैन। तिमीहरू मेरो घरमा बस्न थालेपछि म बिरामी परेको छु भन्दै उहाँले हामीलाई निस्कन उर्दी जारी गर्नुभएको हो,’ महेन्द्रकी श्रीमती शान्ति बिकले भनिन्।

ताराप्रसादले महेन्द्रको थर बिक भन्ने थाहा पाएपछि झन्डै डेढ महिना अघिदेखि बस्दै आएका अंगराज र उनका साथीहरूलाई पनि घर छोड्न उर्दी जारी गरेको पीडितले बताएका छन्।

‘अंगराजहरूले पनि आफूहरू रोकाया हो भन्दै ढाँटेर कोठा भाडामा बसेको खुलेको छ,’ डिएसपी गौतमले भने, ‘उनीहरू सबै दलित हुन् भन्ने थाहा पाएपछि घर धनीले सबैलाई कोठा छोड्न उर्दी जारी गरेको खुलेको छ।’

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार घरधनीले कोठा भाडामा बस्नुपूर्व पनि जातपात सोधेको र अहिले सबै दलित भन्ने थाहा पाएपछि सबैलाई घर खाली गर्न उर्दी जारी गर्ने जातीय भेदभावको कसुर गरेको बताए।

कानुनले कसैलाई पनि जातपातका आधारमा भेदभावपूर्ण व्यवहार गर्न बन्देज लगाएको मात्रै छैन् त्यस्तालाई कानुनी कारवाहीको व्यवस्था पनि गरेको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले पक्राउ परेका ताराप्रसादमाथि आवश्यक अनुसन्धान भइरहेको र आज म्याद थपका लागि जिल्ला अदालत पठाइने जानकारी दिए।

म्याद थप भई आएपछि प्रहरीले ताराप्रसादविरूद्ध जातीय विभेदसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ।सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com