Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी नेतृत्व नै सर्वमान्य : प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत पुस २६ गते प्रतिनिधि सभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘प्रतिनिधि सभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गप्रति पनि न्याय भएको मैले महसुस गरेको छु।’

संसद्मा झन्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै उनले त्यसको ऐतिहासिक महत्व भएको बताए। ‘माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्नसक्छ, सबै दललाई मिलाएर लैजान सक्छ । माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ । त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ’, उनले भने।

उत्पीडित नजागी कसैले दयाले अधिकार दिँदैन
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडित नै अग्रसर हुनुपर्ने बताए।

उनले भने, ‘हिजो ठूलो आन्दोलन र बलिदानी दियौं। त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन्। त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन। अहिले फेरि परिवर्तन विरोधी शक्ति जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन्। उत्पीडित आफैं नजागी र आफैं अग्रसर नभइकन दयाले कसैले अधिकार दिँदैन।’

दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उनले नेपालको क्रान्तिकारी आन्दोलनमा दलितको भूमिका महत्वपूर्ण रहेको बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com