Yeti Khabar

२०७९ माघ २२, आईतवार - Sun Feb, 2023 -

पुसमा नेपाली फिल्म फासफुस : लगानी करोड, आम्दानी लाख !

काठमाडौँ । भनिन्छ, पुस फासफुस । नेपाली फिल्मका लागि गत पुस महिना वास्तवमै फासफुस भएको छ । यो महिना जति फिल्म प्रदर्शनमा आए, कुनैले पनि राम्रो दर्शक पाउन सकेनन् । ‘विदेशीले गर्दा हाम्रो फिल्म चलेन,’ अधिकांश नेपाली फिल्मका निर्माता निर्देशकको मुखमा झुण्डिने शब्द हो यो ।

तर पुस महिना त्यस्तै कुनै पनि राम्रो बलिउड फिल्म नेपाल भित्रिएको छैन । तर पनि नेपाली फिल्मले राम्रो दर्शक पाउन सकेन । ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ गरेर पुसमा ४ फिल्म प्रदर्शनमा आए तर यसमध्ये कुनैले चमत्कार देखाउन सकेनन् ।

जाडो महिना र छोटो दिन हुने भएकाले फिल्म रिलिजका लागि पुस महिना निर्माता, निर्देशकको रोजाइमा कमै पर्छ । फिल्मले दर्शक नपाउने भन्दै निर्माताहरु यो महिना फिल्म रिलिजका लागि पछि हट्ने गर्छन् । तर पनि गत पुस महिनामा ४ फिल्म रिलिज भए ।

रिलिज भएको मध्ये ‘डिसेम्बर फल्स’ र ‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो भने ‘चि मुसी चि’ हरर विषयमा निर्माण भएको थियो । ‘तिम्रो मेरो साथ’ त्रिकोणात्कम प्रेमकथा बनाइएको थियो । प्रवीण झाको निर्देशन रहेको ‘डिसेम्बर फल्स’ पुस १५ बाट प्रदर्शनमा आएको थियो । एकल रिलिज अवसर पाएको आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित फिल्मले हलसम्म दर्शक तान्न सकेन ।

त्यस्तै ‘चि मुसी चि’ भने पुस २२ बाट प्रदर्शनमा आएको थियो । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतको अभिनय रहेको फिल्म हरर मुभीमा नयाँ प्रयोग भएको थियो । नयाँ प्रयोग गरेको प्रचार गरेपनि फिल्मले दर्शक नपाएपछि निर्देशकद्वय मार्ना जेम्स र यश सैनीको प्रयोग व्यर्थ गयो ।

यस्तै पुसको अन्तिम साता अथातर्् गत शुक्रबारबाट फिल्म ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आए । यी दुबै फिल्मले बुधबारसम्म राम्रो दर्शक पाउन सकेका छैनन् । अष्ट महर्जनको निर्देशन रहेको ‘गुञ्जन’ मा सारा सिर्पाली, प्रितमराज, कविर खड्का लगायतको अभिनय छ ।
‘तिम्रो मेरो साथ’ भने रमेश एमके पौडेलले निर्माण निर्देशन गरेका हुन् । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी, सन्दीप क्षेत्री लगायतको अभिनय छ ।

लगानी करोड, आम्दानी लाख !

पुसमा रिलिज भएका चारै फिल्म करोड माथिको माथिको लगानीमा बनेका छन् । फिल्म ‘डिसेम्बर फल्स’ तीन करोड बढी लगानी भएको प्रचार प्रसारको क्रममा निर्माण पक्षले बताएको थियो । फिल्ममा हेलेकोप्टर प्रयोगदेखि महँगो लोकेसनमा खिचिएको छ । तर फिल्मको ब्यवसाय भने सन्तोषजनक नभएको बताइन्छ ।

फिल्मको ब्यवसाय बुझ्न बितरक सुनिल मानन्धरसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । त्यस्तै ‘चि मुसी चि’ पनि करोड बढी लगानीमा निर्माण भएको छ । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायत राम्रो कलाकार राखेर फिल्म बनेको छ । हरर भएकोले फिल्मको साउन्ड र भिएफएक्समा समेत राम्रो मिहिनेत गरिएको छ ।

तर ‘चि मुसी चि’ फिल्मबाट भने निर्माताको हातमा ५र६ लाख पर्न मुस्किल भएको वितरक सिसिएनका प्रमुख अशोक शर्माले बताए । ‘फिल्म त राम्रो बनेको छ तर के गर्नु, दर्शक आएनन्,’ शर्माले थपे । ‘गुञ्जन’ फिल्मको पनि लगानी सवा २ करोड भएको निर्माता हिराकृष्ण शाहीले बताउँदै आएका छन् ।

नेपाल र दुवईका आकर्षकण लोकेसनमा खिचिएको फिल्म अहिले पनि प्रदर्शनरत छ । फिल्मले अहिलेसम्म २५ लाख ग्रस कलेक्सन गरेको वितरक करण क्रेजी बताउँछन् । फिल्मको ब्यवसाय राम्रो हुने आस गरेका थिए तर किन हो दर्शक देखिएनन् ।

यस्तै फिल्म ‘तिम्रो मेरो साथ’ निर्माणमा पनि निर्माता, निर्देशक रमेश एमके पौडेलले दिल खोलेरै खर्चेका छन् । प्रचार प्रसार समेत राम्रो गरेको फिल्ममा पछिलो समय राम्रो चलेका कलाकार राखिएकोमा लगानी राम्रो छ । तर फिल्मको ग्रस कलेक्सन ५÷७ लाख पुग्न पनि गाह्रो भएको वितरक मनोज राठी बताउछन् ।
‘फिल्म त राम्रो बनेको जस्तो लाग्छ । प्रचार पनि भएको छ,’ राठीले भने, ‘फिल्मको ओपनिङ ब्यवसाय नै भएन ।’ फिल्म भने अझै प्रदर्शनरत छ ।

खै स्टारको क्रेज ?

नेपाली फिल्मका धेरै निर्मातारनिर्देशक कथाबस्तु भन्दा पनि स्टार कलाकारको पछि लाग्छन् । स्टार कलाकार भए फिल्म प्रचारदेखि चलाउन सजिलो हुने उनीहरुको धारणा हुन्छ । त्यसैले स्टार कलाकारका लागि उनीहरु भनेको पारिश्रमिक दिन पनि पछि पर्दैनन् ।

पुसमा रिलिज भएको फिल्म हेर्ने हो भने ४ मध्ये ३ फिल्ममा स्टार कलाकार छन् । तर ब्यवसाय भने कुनैले पनि गरेको देखिएन । पुसमै रिलिज भएको ‘डिसेम्बर फल्स’मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा थिए । चकलेटी हिरोको रुपमा रुचाइएको आर्यन र लगातार हिट फिल्म दिएकी उपासनको बलमा निर्माताले फिल्मका लागि करोडौ खन्याएका थिए । तर यो फिल्ममा दुबै कलाकारको जादु चल्न सकेन ।

त्यस्तै ‘चि मुसी चि’ प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी जस्ता कलाकारले भरिएको थियो । निर्माताले स्थापित कलाकारलाई राम्रो पारिश्रमिक दिए तर फिल्ममा यी कलाकारको मुहारले दर्शकलाई हलमा डोर्याउन सकेन ।

यस्तै ‘तिम्रो मेरो साथ’ पनि अहिलेकी हिट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको अलावा पुष्प खड्का र सन्दीप क्षेत्री अभिनित फिल्म हो । यी सबै कलाकारको दर्शकमा राम्रो क्रेज छ । त्यो क्रेज हलमा भने देखिएन ।
फिल्म वितरक संस्था डिसियनका अशोक शर्मा पनि पुसमा रिलिज भएको फिल्ममा रहेका स्टारले फिल्मको ब्यवसायमा प्लस गर्न नसकेको बताउँछन् ।रातोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com