Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पालिकालाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।

आज आइतवार काठमाण्डौमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सङ्घ, प्रदेश र पालिकाको चुनाव निष्पक्ष ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि पालिकाको सबलीकरण हुने गरी कानुन निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।

जनसेवाको कामलाई प्रभावकारीरूपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलो सरकार लगायतका सबै सार्वजनिक सेवालाई सबै तहमा लागू गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो । उहाँले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि पालिकाका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘भर्खरैमात्र हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न गरेका छौँ । यसैगरी गएको वैशाखमा स्थानीय तहको चुनाव गर्‍यौँ । यसले देशमा उत्तरदायी नेतृत्वको विकासलाई थप सबलीकरण गरेको छ । अबको हाम्रो प्राथमिकता सङ्घीयता, लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन र विकास अनुभूति गराउने हुनु पर्दछ । सेवा प्रवाहसम्बन्धी कानुन, कार्यविधि, मापदण्ड निर्माण गरि छिटो र छरितो सेवा प्रवाह गर्न सक्नु पर्दछ । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न स्थानीय निकायलाई विशेष अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले देशमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कुरीतिको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्ने गरि पालिकाको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य अनुरूप अघि बढ्ने गरि योजना तर्जुमा गर्न पालिकाले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले पालिकाको प्रतिष्ठालाई अघि बढाउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काम गरिरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाललाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com