Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

राष्ट्रिय जनमुक्तिका उम्मेदवारलाई गठबन्धनको समर्थनपछि विष्णु पौडेललाई कति चुनौती र ?

कात्तिक, १३ काठमाडौँ । प्रतिनिधिसभातर्फ रुपन्देही–२ मा नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ । यस क्षेत्रमा जनमुक्ति पार्टीबाट केशव बहादुर थापा उम्मेदवार छन् ।

यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु प्रसाद पौडेल पनि उम्मेदवार छन् । गत बुधबार सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने र जनमुक्ति पार्टीले अन्य क्षेत्रमा गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्ने शर्तमा भएको तालमेलले रुपन्देहीका अन्य क्षेत्रमा पनि चुनावी अंकगणितमा प्रभाव पार्ने देखिन्छ ।

यो क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका प्रतिस्पर्धी जनमुक्ति पार्टीको कार्यकारी अध्यक्ष थापासँग प्रतिस्पर्धा हुने भएको छ । बुटवल–८ का स्थायी बासिन्दा रहेका थापा पूर्व शिक्षकसमेत हुन् । जनमुक्ति पार्टीको चौथो र पाँचौँ महाधिवेशनबाट दुई कार्यकाल महासचिव भएका थापा २०७८ भदौमा कार्यकारी अध्यक्ष बनेका हुन् ।

यहाँ पौडेल र थापाका अतिरिक्त अन्य साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बिपीकी नमादेवी गौतम जैसी, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल पनि यहाँ उम्मेदवार छन् । यस्तै रूपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार छन् ।

अङ्क गणित यस्तो देखिन्छ

रुपन्देही–२ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । २०७४ सालमा एमालेका विष्णु पौडेलले ४४हजार ९ मत ल्याउँदा नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मत ल्याएका थिए । तर त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेको थियो ।
यो पनि
विष्णु पौडेललाई टक्कर दिन आएका केशव को हुन् रु
बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने यो क्षेत्रमा १ लाख २८ हजार ६७७ मतदाता छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाअध्यक्षहरुले पाएको मत अनुसार यहाँ कांग्रेस अगाडि देखिन्छ । स्थानीय तहको निर्वाचनअनुसार यहाँ नेपाली कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ र जसपाको १८३ मत छ ।
अहिले यहाँ राप्रपाले एमालेका विष्णु पौडेललाई समर्थन गरेको छ । यसरी राप्रपा, एमाले र जसपाको मत जोड्दा ३७,२९० मत हुन्छ । अर्कोतिर सत्ता गठबन्धनको मत ३९,५२९ देखिन्छ । यस आधारमा राष्ट्रिय जनमुक्ति पार्टीको मत बिना नै सत्तारुढ गठबन्धन दुई हजारभन्दा बढी मतले अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका केही सीमित वडामा मात्र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दिएको थियो, जसमा उसले दुई हजार ७० मत पाएको थियो । यो मतसमेत जोड्ने हो भने सत्तारुढ गठबन्धन एमालेका उम्मेदवारको तुलनामा निकै बलियो देखिन्छ ।

एमालेको दाबी

रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय चुनावको अङ्कगणितले खासै प्रभाव नपार्ने एमालेको दाबी छ । एमाले क्षेत्र नम्बर २ का संयोजक बाबुराम पन्थीले स्थानीय चुनावपछि यहाँ एमाले थप बलियो भएको दाबी गरे । उनले स्थानीय चुनावमा भएका त्रुटीलाई सच्याएर अघि बढेका कारण पार्टीको मत बढ्ने जिकिर गरे । रातोपाटी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com