Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

सिट बाँडफाँट प्रस्तावले गठबन्धनमा खटपट : नेकपा एस र जसपा रुष्ट, माओवादी केन्द्र खुसी

काठमाडौँ — सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेससँग अन्य साझेदार दलहरू असन्तुष्ट बनेका छन् । बिहीबार भएको बैठकमा सिट बाँडफाँटसम्बन्धी कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको पछिल्लो प्रस्तावपछि गठबन्धनभित्र असन्तुष्टि झनै बढेको हो । सिटौलाले कांग्रेसलाई फाइदा हुने गरी नयाँ प्रस्ताव ल्याएको भन्दै जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी असन्तुष्ट बनेका छन् ।

कांग्रेसबाहेकका गठबन्धनका अन्य दलले आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको सिट बाँडफाँटका लागि टुङ्गो लगाउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । तर‚ कांग्रेस भने आन्तरिक विवादलाई देखाउँदै बाँडफाँटलाई अन्तिम समयसम्म लैजाने र गठबन्धनका अन्य दललाई थोरै सिट दिँदा हुने परिस्थिति निर्माण गर्न चाहेको अन्य दलहरूको आरोप छ ।

कांग्रेसभित्रै शेखर कोइराला‚ गगन थापा समूह गठबन्धनका अन्य दलहरूका साथै इतर रहेको आफ्नो समूहलाई कम स्थानमात्रै दिन खोजेको भनेर असन्तुष्टि जनाउँदै आएका छन् । सिटौलाको प्रस्तावपछि जसपा सबैभन्दा बढी असन्तुष्ट देखिएको छ ।

सिटौलाजीले पहिले ल्याउनुभएको प्रस्तावमाथि मोटामोटी सहमति जुटिसकेको अवस्थामा बिहीबारको बैठकमा नयाँ प्रस्ताव ल्याउनुभयो‚ जसका कारण सबैले विरोध गर्नुभयो‚ जुन प्रस्ताव कांग्रेसमय छ । उहाँहरूले आफूलाई फाइदा हुने गरी ल्याउनु भएको छ । यसमा असन्तुष्ट छौं‚ जसपातर्फका कार्यदलका सदस्य रहेका मनीष सुमनले भने, असोज १६ गतेसम्म सक्ने काम भइरहेको थियो । त्यो समय घर्किएपछि मनोनयनको समयसम्म टुङ्गिएला । बिहीबारको बैठकमा सिटौलाको प्रस्तावपछि कार्यदलको बैठक बस्न सकेको छैन । बिहीबार आन्तरिक रुपमा छलफल गरेर शुक्रबार कार्यदल बैठक बस्ने भनिएको थियो ।

यसैबीच जसपाले गठबन्धनभित्र सन्तोषजनक अवस्था नदेखिएको भन्दै अन्य दलहरूसँग पनि तालमेल गर्न सकिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा सिट विषय निष्कर्षमा पुग्न नसकेको अवस्थामा जसपाको यस्तो चेतावनी आएको हो । गठबन्धनमा जसपाले प्रतिनिधिसभामा २० स्थानभन्दा बढी सिट दाबी गर्दै आएको छ । गठबन्धन भागबन्डा १२ देखि १३ स्थानमा मात्रै दिन सकिने सिटौलाको प्रस्तावमा रहेको छ । जसपाले एक्लै चुनाव लड्दा पनि कम्तीमा ९ स्थान जित्न सकिने भन्दै आफ्नो शक्तिलाई कम आँकेमा गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएको छ । अर्कोतर्फ एकीकृत समाजवादी पनि सिटौलाको पछिल्लो प्रस्तावमा असन्तुष्ट रहँदै आएको छ ।

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भदौदेखि हरेक बैठक निर्णायक भन्दै बस्ने गरे पनि परिणाम आउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । आज अन्तिम बैठक भन्दै हामी भदौदेखि बस्दै आएका छौं तर कुनै निष्कर्षमा पुगिसकेका छैनौं‚ नेपालले भने, कहिले टुङ्गिन्छ भन्न सकिँदैन । गठबन्धनमा एकीकृत समाजवादीलाई १७ देखि १८ सिट दिने विषयमा छलफल भएको छ । सो दलको दाबी भने ३० स्थानमा रहेको छ ।

कांग्रेसभित्र भने गठबन्धन हुँदा कम स्थानमात्रै हात पर्ने भन्दै एक्लै चुनावमा जान देउवा इतर पक्षले दबाब दिँदै आएको छ । कांग्रेसले गठबन्धनमा भागबन्डा हुँदा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १ सय ६५ सिटमध्ये ८० देखि ८५ सम्म स्थान गर्ने सम्भावना छ । गठबन्धनभित्र मधेसमा सिट बाँडफाँटको विषय गाँठो परेको छ । मधेसका कतिपय स्थानमा गठबन्धनको ४ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जपसाको दाबी रहेको छ ।

गठबन्धनको अर्को दल माओवादी केन्द्रमा भने सिटौलाको प्रस्तावमा सकारात्मक देखिएको छ‚ जसमा माओवादीलाई अहिले भैरहेको छलफलभन्दा केही फाइदा हुने देखिएको छ । सिटौलाको प्रस्तावमा माओवादी केन्द्रले ४५ देखि ५० स्थान प्राप्त गर्ने छ ।

पाँचदलीय सत्तारुढ गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो । त्यसका लागि साउन २० देखि कार्यदल सक्रिय रहेको छ । सुरुमा साउन मसान्तसम्म बाँडफाँटको प्रस्ताव ल्याउन कार्यदललाई निर्देशन दिइएको थियो । ११ सदस्यीय कार्यदलले पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरेर टुङ्गो लगाउन खोजे पनि सफलता हात पार्न सकेको छैन ।कान्तिपुर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com