Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दाजु र भाउजुको योजनामा कोहलपुरमा भाइ-बुहारीको हत्या

बाँकेको कोहलपुरमा दाजु र भाउजुको योजनामा भाइ-बुहारीको हत्या भएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दाजु-भाउजुले योजना बनाएर भाइ र बुहारीको हत्या गरेको पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।

‘दाजु विजयकुमार गडरिया र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य पत्ता लागेको छ,’ एसपी अधिकारीले भने, ‘बाबुआमाले भाइ-बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको देखियो।’

सम्पत्तिको लालचभन्दा पनि घरायसी झगडाले दाजु-भाउजुले हत्या योजना बनाएको देखिएको उनले जानकारी दिए।
‘गडरिया परिवार सम्पत्ति राम्रै भएको परिवार रहेछ,’ एसपी अधिकारीले भने, ‘तर बुहारीका कारण बुवाआमाले भाइ र उनलाई बढी माया गरेपछि आफूहरूसँग टाढिएको भन्ने सोचले हत्या गर्ने योजना बनाएको देखियो।’

भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन जेठाजुले बुहारीको हत्या गर्ने योजना बनेको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार सबैजसो नातेदार भारतमा भएकाले उतैबाट मानिस बोलाएर हत्या गरिएको हो।
‘दुबै दाजुभाइको ससुराली भारतमा रहेछ,’ उनले भने, ‘त्यही भएर उतैबाट मानिसहरू बोलाएर हत्या गर्न लगाएको देखियो।’
एसपी अधिकारीका अनुसार घटनामा चार जनाको संलग्नता देखिएको छ।

‘सुरूमा बुहारीको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘त्यसपछि भाइले अलिबेर संघर्ष गरेको पछि उनलाई पनि मारेको देखिन्छ।’
बुहारीलाई डोरीले घाँटी कस्नुका साथै मुख थुनेर हत्या गरेको देखिएको छ भने भाइलाई हातको नशा काटेर मुख थुनेरै हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

कोहलपुर नगरपालिका-१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए।

उनीहरूका दाजु र भाउजु माथिल्लो तलामा बस्थे। इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुवाआमा घरमा नभएको मौका छोपी दाजुले आफ्नो घरको भिडिओ खिचेर सबै हत्यामा प्रयोग गरिएका मानिसलाई दिएको खुलेको बताए।

‘आफ्नो घर कहाँबाट प्रवेश गर्ने, कुन बाटो निस्कनेजस्ता सबै कुराको सूचना भिडिओमार्फत् विजयकुमारले पहिले नै दिएको देखियो,’ मल्लले भने, ‘भारतका दुई जना मानिसलाई एक लाख रुपैयाँ दिएर भाइ-बुहारीको हत्या गर्न लगाएको कुरा खुलेको छ।’

मल्लका अनुसार सुरूमा विजयकुमार र रेखा दम्पतीले बुहारी मञ्जुको हत्या गर्ने योजना बनाएका थिए।
‘सुरूमा हुन पनि बुहारीकै हत्या भएको देखिन्छ,’ मल्लले भने, ‘घटनाका क्रममा भाइ पनि आएपछि दुबैको हत्या भएको खुलेको छ।’
मल्लका अनुसार हत्याको प्रमुख कारण बुहारीलाई बुवा आमाले बढी माया गर्नु, केही समय पहिले भाइ र बुवा मिलेर दाजु विजयकुमारमाथि कुटपिट गर्नु जस्ता कारणले उनीहरूले भाइ-बुहारीको हत्या योजना बनाएको देखिएको छ।

‘हामीलाई होइन, भाइ(बुहारीलाई मात्रै बुवा आमाले माया गरेको र हामीलाई टाढा बनाएको भन्ने बयान पक्राउ परेकाले दिएका छन्,’ डिएसपी मल्लले भने, ‘हामीलाई भाइ-बुहारी बाबुआमा प्यारो र नजिक बनेको तथा हामीलाई टाढा बनाएको कुरा सहन नसकेर हत्या योजना बनायौं भन्ने छ।’

घटनामा संलग्न व्यक्तिको पहिचान लगभग खुलिसकेको भए पनि उनीहरूलाई पक्राउ गरेपछि मात्रै सार्वजनिक गर्ने तयारी प्रहरीको छ। हत्यामा संलग्न व्यक्तिहरू भारत प्रवेश गरेरनगरेको नखुलेको प्रहरीले जनाएको छ।

एक वर्ष पहिले मात्रै कृष्ण र अञ्जलीको बिहे भएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले हत्यामा संलग्न व्यक्तिको खोजी तथा पक्राउ गर्नका लागि भारतीय प्रहरीसँग पनि सहयोग मागिएको बताए। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com