Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दिल्लीमा पनि एक जनालाई देखियो मंकिपक्स

भारतको राजधानी नयाँदिल्लीमा एकलाई मंकिपक्स भाइरसको संक्रमण पुष्टि भएको छ।
द इन्डियन एक्प्रेसका अनुसार ३४ वर्षीय पुरूषलाई मंकिपक्स संक्रमण देखिएको हो।
ती पुरूष पछिल्लो समय देशबाहिर नगएको भए पनि संक्रमण देखिएको हो। केही दिनअघि उनी हिमाञ्चलको मनालीमा एक भोजमा सहभागी भएका थिए।

उनको सम्पर्कमा आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको अधिकारीहरूले जनाएका छन्।
योसहित भारतमा मंकिपक्सका ४ जना संक्रमित पुगेका छन्। केही समयअघि दक्षिण भारतीय राज्य केरलामा ३ जनालाई मंकिपक्सको संक्रमण भएको थियो।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।

मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्नेबारे डब्लुएचओको विज्ञ समूह सहमतिमा पुग्न सकेको थिएन। विज्ञ समूह विभाजित भएपछि गेब्रेएससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन्। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ।

‘हामीले कमै थाहा पाएका नयाँ माध्यमबाट तीव्र गतिमा संसारभरि फैलिरहेको यो संक्रमण स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सबै अवस्थामा पुगेको छ,’ गेब्रेएससले भनेका छन्।

केही विज्ञहरूले पनि डब्लुएचओले हतार-हतारमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको भनेर आलोचना पनि गरेका छन्।

मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो। परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो।

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।

त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।

यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।

संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।
मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।

मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३।३ प्रतिशतले ज्यान गुमाएका छन्।
मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com