सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

जेठ, १६ काठमाडौं । प्युठानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले जिल्लाको ऐरावती गाउँपालिका–१ अमिलीका ३४ वर्षीय दोर्ण बहादुर आले मगरको मृत्यु भएको जनाएको छ ।
अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागे मृत्यु भएको हो । स्थानीय २४ वर्षीय ज्ञान बहादुर नेपालीले सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्ण बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठान, ईलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुक सहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।