Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको गरेको हो । 

विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट–१ वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।


“श्रीमतीको १४ वर्षअघि मृत्यु भयो, छोराछोरीको हेरचाहका लागि दोस्रो विवाह गरिनँ, अहिले न छोराछोरीले हेरे, न त आफन्त र सरकारले नै, वडा कार्यालयबाट हामीजस्ता दुःख पाएका व्यक्तिलाई नगदसहित सम्मान गरेकामा खुसी लागेको छ”, जोगीथुमका केशव कुमालले भने । 

वडाले आफूहरूलाई सम्मान गरेकामा मन खुसी भएको बन्दना सुनारले बताए । उनले भने, “मेरा कुनै दाजुभाइ छैनन्, म बाबुआमालाई पालेर बसेकी थिएँ, बाबुआमाको मृत्युपछि म एकल जीवन बिताउँदै आएकी छु । एकल रूपमा भए पनि समाजमा आफ्नो काम गरेर जीविकोपार्जन गरेकी छु ।” उनले सम्मानस्वरुप पाएको रकमले औषधोपचार तथा आपत् विपद्मा  खर्च गर्ने बताए ।

वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताइन् । उनले राज्यबाट कहीँकतैबाट सम्बोधनमा नपरेका हामीजस्ता एकल महिला–पुरुषलाई वडाले सम्मान गरेर हौसला बढाएको जनाउँदै एकल महिला तथा पुरुषको विषयमा सङ्घीय सरकारले समेत नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com