Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

रित्तिँदै म्याग्दीका घुम्ती गोठ 

facebook sharing button

शरीरका लुगाफाटा च्यातिएका छन्। कपाल र दारी फुलेर सेता भएका छन्। गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन्। उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ। 

गोठमा भैंसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उहाँको नियमित दैनिकी हो। जीवनको अधिकांश समय गोठमा बिताएका उनको गोठमा अहिले नौवटा भैंसी छन्। उनले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैंसीपालन गर्दै आएका छन्। बर्खायाममा लेकाली बुकीहरूमा पु¥याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ।

घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन्। गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राखेका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैंसी छन्। 

‘म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ,’ उनले भने।

रोजगारीका लागि कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उनको भनाइ छ। गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गरेका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत सम्झिए।

परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौं, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उनको भनाइ छ। करिब १५ वर्षसम्म भेडाबाख्रापालन गर्नुभएका तुलाचनले दुई दशकदेखि भने भैंसीपालन गर्दै आएका छन्।

बीस–पच्चीसवटासम्म भैंसी पाल्ने गरेका उनले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैंसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिए।
 
गोठबाट दूध दिने भैंसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उनले बताए। बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाएकमा छन्। 

‘मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु,’ उनले भने। 

घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उनले बताए।

‘एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने,’ उनले भने।

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन्। बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन। गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उनले बताए। तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताए। उनले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com