Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रुपन्देहीको रोहिणीमा बालिका बीमा कार्यक्रम : गाउँपालिकाले बालिकाकाे खातामा २० हजार राखिदिने

रुपन्देही – रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताउनु भयाे । 

बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम शुरु गरिएको यादवले बताउनु भयाे। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गर्ने भएकाे छ । यो कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास लिइएको यादवले बताउनु भयाे । 

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताउनुभयो ।

‘बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ’, उहाँले भन्नुभयो,’अभियानअन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् ।’ यसका लागि कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार एकपटक राखिदिने  र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले आव २०७९/८० र २०८०/८१ मा एक सय ९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताउनुभयो । उहाँले आउँदाे वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com