Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि भ्रष्टाचार गर्नेलाई नछोड्ने भन्नुभएको छ : मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज बुधवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताउनुभयो । 

भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । ‘सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ’, उहाँले भन्नुभयो ।

सरकारकी प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सञ्चारमाध्यमको प्रशंसा गर्नुभयो । ‘भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । अनुसन्धान निष्कर्षमा पुर्‍याउने छौँ ।’

मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताउनुभयो । सामाजिक सञ्जाल नियमनका लागि कानुनबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उहाँले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गर्नुभयो । 

जिल्लाको विकट क्षेत्रका रूपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उहाँले काम नगर्ने ठेकेदारसँग सहमति गरी त्यो ठेक्का रद्द गरिएको बताउनुभयो । 

मन्त्री शर्माका अनुसार त्यो सडक मर्मतका लागि काम अगाडि बढेको छ । नयाँ प्रक्रियाबाट सडक निर्माण अगाडि बढ्ने उहाँको भनाइ थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com