Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भारतमा ९७१ करोडमा बनेको नयाँ संसद भवन किन चर्को राजनीतिक विवादमा फस्यो ?

भारतमा मे २८ अर्थात् आउँदो आइतबार नयाँ संसद भवनको उद्घाटन हुने कार्यक्रम छ । तर, उक्त संघीय संसद उद्घाटन हुनुपूर्व नै विवादको घेरामा फसेको छ ।

तीन कारणले गर्दा भारतीय संसद उद्घाटन यतिबेला चर्को राजनीतिक विवादमा फसेको हो । पहिलो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गर्दैछन् । दोस्रो, भवन उद्घाटनको दिन हिन्दुत्ववादी नेता विनायक दामोदर सावरकरको १ सय ४० औँ जन्मजन्यती हो । र, तेस्रो, भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको अन्तिम संस्कार सोही दिन भएको थियो जुन दिन भारतको नयाँ संसद भवन उद्घाटन हुन गइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस आईसहित देशका १९ पार्टीले बुधबार मात्र संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको हातबाट हुन लागेको संसद उद्घाटन कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् । कांग्रेस आई, डीएमके, तृणमूल कांग्रेस, आम आद्‌मी पार्टी, सपा, झारखण्ड मुक्ति मोर्चा, केरल कांग्रेस, बीसीके, आरएलडी, आरजेडी, जेडीयू, एनपीसी, शिवसेना, डीएमके, सीपीआई, सीपीआई एम, नेसनल कन्फ्रेन्स, आरएसपी, एमडीएमके ती पार्टीहरू हुन्, जसले संसद उद्घाटन बहिष्कार गर्दैछन् ।

यी पार्टीहरूका अनुसार प्रधानमन्त्री मोदीले संवैधानिक वरीयता क्रमलाई भंग गर्दै संसद भवन उद्घाटन गर्दैछन् । मोदी राष्ट्रपतिभन्दा माथि हुन खोजेको पनि उनीहरूको आरोप छ । वरिष्ठ पत्रकार तथा लेखक निलान्जन मुखोपाध्यायका अनुसार वरीयताअनुसार संसदको उद्घाटन राष्ट्रपति, उपराष्ट्रपति अथवा संसदको अध्यक्षता गर्ने अधिकारीहरूले गर्नुपर्छ प्रधानमन्त्रीले होइन । भारतीय संविधानको धारा ७९ मा संसद राष्ट्रपति र दुई सदन मिलेर बन्ने स्पष्ट लेखिएको छ । त्यहाँ संसदमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको व्यक्तिगत भूमिका नहुने उल्लेख छ ।

यस विषयमा कांग्रेसका वरिष्ठ नेता राहुल गान्धी भन्छन्, ‘राष्ट्रपतिलाई संसद उद्घाटन समारोहमा निम्तो नदिनु र उद्घाटन गर्न अनुरोध नगरिनु यो देशको सार्वोच्च संवैधानिक पदको अपमान हो । संसद अहंकारको इटाले बन्दैन, संवैधानिक मूल्य र मान्यताले बन्छ ।’

आइतबार संसद भवनको उद्घाटन हुने दिन विनायक दामोदर सावरकरको १ सय ४० औँ जन्मजयन्ती पनि हो । सत्ताधारी दल भारतीय जनता पार्टीले सावरकरलाई देशको नायकका रूपमा चित्रण गर्छ तर विपक्षीका अनुसार सावरकर उग्र-हिन्दुत्ववादी नेता थिए । विभाजनकारी व्यक्तित्वको जन्मजयन्तीका दिन लोकतान्त्रिक राष्ट्र भारतको संघीय संसदको उद्घाटन हुन नहुने विपक्षीको अडान छ ।

आज हिन्दुत्व विचारधारा भारतमा हिन्दू राष्ट्रवादी राजनीतिको एक प्रमुख रूप बनेको छ । राजनीतिक विचारधाराका रूपमा पहिलोपटक हिन्दुत्व शब्द विनायक दामोदर सावरकरले नै सन् १९२३ मा पहिलोपटक व्यक्त गरेका थिए ।सावरकरमाथि भारतीय राष्ट्रपिताका रूपमा परिचित महात्मा गान्धीको हत्यामा संलग्न भएको आरोप पनि लागेको थियो । उनीमाथि हत्या अभियोगमा मुद्दा पनि चलेको थियो तर त्यो आरोप पुष्टि हुन सकेन ।

वरिष्ठ पत्रकार तथा लेखक निलान्जन मुखोपाध्यायका अनुसार मोदी सरकार विवादित व्यक्ति सावरकरलाई राष्ट्रिय प्रतीकका रूपमा स्थापित गर्न तत्पर छ । यस्तै, भारतीय संसद उद्घाटनको दिन भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको अन्त्येष्टि गरिएको दिन हो । विपक्षी दलका नेताहरूले उद्घाटन नेहरुको अन्त्येष्टिकै दिन संसद उद्घाटनको मिति छनोट गर्नु भारतका संस्थापक पिताको अपमान भएको बताएका छन् ।

नयाँदिल्लीमा रहेको नयाँ संसद भवन बनाउन भारत सरकारले ९ सय ७१ करोड भारु खर्च गरेको छ । संसद परिसरमा लोकसभा र राज्यसभाको भवन बनाइएको छ । लोकसभामा ८ सय ८८ सांसद र राज्यसभामा ३८४ सांसदहरू अटाउँछन् । नयाँ संसद भवनमा संयुक्तसत्र आयोजना हुँदा १२ सय ७२ सदस्यहरू अटाउनेछन् । लोकसभाको डिजाइन राष्ट्रिय पन्छी मयुर र राज्यसभाको डिजाइन राष्ट्रिय फूल कमलमा आधारित छ । नयाँ संसद भवन डिजाइन गर्ने व्यक्ति विमल पाटेल हुन् ।

बीबीसीको सहयोगमा 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com