Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बाग्लुङ : हटिया–ताराखोला सडक निर्माणकाे म्याद सकियो, सकिएन कालोपत्र

बाग्लुङ – निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । 

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्र हुन सकेको छैन । डेढ वर्षअघि नै कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत याे सडकको कालोपत्र सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्र नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ । 

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताउनुभयो । ‘गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्र भएन’, उहाँले भन्नुभयो, ‘दुई पालिका जोड्ने सडक कालोपत्र भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रका लागि ढिलै भए पनि ग्राभेल गरेको छ ।’

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने याे रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दासमेत कालोपत्र नभएको पूर्वाधार कार्यालय बाग्लुङले जनाएको छ । पूर्वाधार कार्यालय बाग्लुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रमा समस्या भएको जानकारी दिनुभयो । 

‘यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो, आउँदाे म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्र सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ’, उहाँले भन्नुभयो, ‘अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्र सकिँदैन ।’

उहाँका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ । झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम  ढिलो भएको छ । याे सडकको अहिलेसम्मको प्रगति  ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म १२ करोड रुपैयाँभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक कालोपत्रमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गर्नुभयो । उहाँले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्र गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

‘अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो, अहिले विद्युतका पोलसमेत सार्न थालिएको छ’, उहाँले भन्नुभयो, ‘अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्र नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ ।’

हटियादेखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्कामार्फत् अहिले काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बाग्लुङ शाखाका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतका पोल सार्ने काम केही दिनमै सकिने जनाउँदै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्र गर्न सुझाव दिनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com