Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

कुश्मा-बलेवा यान्त्रिक पुल बन्द हुँदा शुल्क तिरी आवतजावत गर्नुपर्ने बाध्यता

पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिनका लागि बन्द हुने भएको छ।

पुलको नियमित मर्मतका लागि शनिबारदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ।
पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइका लागि बन्द गरिने कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए।

पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका-१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारण आवातजावत गर्दै आएका छन्।

पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक-एक वर्षमा परिवर्तन गर्नुपर्ने हुँदा बन्द गर्नुपरेको शर्माले बताए। तर यसपटक लामो समयपछि मात्रै मर्मत गर्न थालिएको हो।

यान्त्रिक पुल बन्द हुँदा दुवै क्षेत्रका सर्वसाधारण एक घण्टाको घुमाउरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गे पुल वा शुल्क तिरेर बन्जी पुलबाट आवातजावत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।

यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन्।
पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटक समेत आउने गरेका छन्। २०६८ मा करिब चार करोड रुपैयाँ लागतमा बनाइएको यो पुलबाट एक डब्बामा एकपटकमा आठ जना मानिस आवातजावत गर्छन्। पुलमा दुईवटा डिब्बा छन्।

पुलका कारण स्थानीयलाई यात्रामा सहजता हुनुका साथै सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ। पुल प्रयोग गर्नका लागि स्थानीयवासी र अन्य यात्रुका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com