सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

१५ असार काठमाडौं । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित ३ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सुनसरी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३३प ९६०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएका थिए ।
साँझ करिब साढे ७ बजे भएको दुर्घटनामा परी ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो । दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।