Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

पालिका उपचुनाव : यी हुन् उम्मेदवार

मंसिर, २ काठमाडाैं । मंसिर १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उप चुनाव हुँदैछ ।

धेरैको चासो रहेको काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएकाे छ । यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा यौनिक अल्पसङ्ख्यकलाई उम्मेदवार बनाएको छ । जसपा नेपालको तर्फबाट मेयरमा दीपक महर्जन र वडा नम्बर ४ को अध्यक्षमा राजिव महर्जनले उम्मेदवारी दिनुभएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) ले कीर्तिपुरको मेयर र वडाध्यक्ष दुवैमा उम्मेदवारी दिएको छैन । उम्मेदवारी नदिनुको कारण भने रास्वपाले खुलाएको छैन ।

रुकुम पूर्वमा भने सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा एमाले र कांग्रेसले गठबन्धन गरेका हुन् । सहमतिअनुसार अब कांग्रेसको चुनाव चिह्न रुखबाट एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर २ मा भने सूर्य चिह्नबाट कांग्रेसका जीवन रोका वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । पुथा उत्तरगङ्गाको उपाध्यक्षमा माओवादीले नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । नेकपा (एकीकृत समाजवादी) ले सुनिता बुढालाई उम्मेदवार बनाएको छ ।

यसैबीच जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाको प्रमुखमा पनि एमालेले आफ्नो उम्मेदवार उठाएको छैन । नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईलाई सहयोग गर्दै एमालेले उम्मेदवारी नदिएको हो । बहुमत भएकाले भट्टराईको जीत पक्काजस्तै छ । यस्तै कैलालीमा एमालेकै समर्थन हुँदा कांग्रेसकी टीका चौधरी जिसस सभापति निर्वाचित हुने पक्का भएको छ ।

यसैबीच दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट पासदिकी तामाङ, एमालेकी उमा शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, एकीकृत समाजवादीको तर्फबाट रबिना खड्का र रास्वपाको तर्फबाट गोमा श्रेष्ठको उम्मेदवारी परेको छ ।

यस्तै मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार, माओवादीका नमोनारायण माझी, रास्वपाका तर्फबाट नवीनकुमार विश्वास र राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दिनुभएको छ ।

यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई जना स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट सविता ऐडी, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चाबाट देवकी तिमल्सिना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचा शाहीको उम्मेदवारी परेको छ । यस्तै स्वतन्त्रतर्फ नरेश साही र रामशरा खड्का शाहीको उम्मेदवारी परेको छ ।

यस्तै दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका झलकबहादुर भण्डारी, नेकपा एमालेका जङ्गबहादुर शाही, नेकपा माओवादी केन्द्रका जङ्गबहादुर बराल, रास्वपाका प्रकाशकुमार बुढा, एकीकृत समाजवादीका जगतबहादुर हमाल, राप्रपाका सूर्जे रावल र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का दुर्गबहादुर मगरको उम्मेदवारी दर्ता भएको छ ।

यसैबीच बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विक, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र राप्रपाबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा र माओवादीबाट देवका लामिछानेले मनोनयन दर्ता गराउनुभएको छ ।

भोलि उम्मेदवारको विरोधमा उजुरी दिने र उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ गते दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने तालिका छ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । उज्यालाेबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com