Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

ललितपुरकाे जावलाखेलमा नुहाउने सुविधासहितको सार्वजनिक शौचालय

ललितपुर – ललितपुर महानगरपालिकाले जावलाखेलमा नुहाउने सुविधासहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरपालिका मेयर चिरिबाबु महर्जनले हिजो एक समारोहकाबीच शौचालयको शुभारम्भ गर्नुभयो । त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङ्गतामैत्री बनाउँदै लगेको बताउनुभयो ।

‘शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ । त्यो धारणा बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ ।  शौचालयको सहजरूपमा प्रयोग गर्नेगरी सफासुग्घर राख्ने हाम्रो योजना छ । त्यसैअनुसार हाल शौचालय निर्माण भइरहेका छन्’, उहाँले भन्नुभयो ।

असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उहाँको भनाइ छ ।

महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।

महानगर वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चापभएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिकहरू लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो वडामा सदर चिडियाखाना छ । यहाँ भ्रमणमा आउनेहरूका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ । त्यसैलाई मध्यनजरगरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउपुग्ने छ ।’

कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यान दिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानेले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नम्बर ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com