Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

जेठ, २६ काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो।

नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए।

भर्खरै सुरू गरिएको दुबै विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ को पढाइ सुरू गरिएको छ।

चुनदेवी आधारभूत विद्यालयमा दुई शिक्षक र महादेव आधारभूत विद्यालयमा तीन शिक्षक राखेर कक्षा शिक्षण सुरू गरिएको शिक्षा शाखा प्रमुख गौतमले बताए। दुबै विद्यालयको शिक्षकको तलब भने अहिले नगरले व्यहोरेको छ।

टोखा नगरको विसं २०७८ चैत २४ गतेको बैठकको निर्णयअनुसार दुई सामुदायिक विद्यालय थप गरिएको हो। दुई विद्यालय थप गरिएसँगै टोखामा सामुदायिक विद्यालयको सङ्ख्या १० पुगेको छ।

टोखामा यसअघि आठ सामुदायिक विद्यालय सञ्चालनमा थिए। टोखा–१ मा दुई सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने वडा नं ५ र ९ मा भने हालसम्म पनि सामुदायिक विद्यालय सञ्चालनमा छैनन्।

वि।सं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने निर्णयअनुसार यो शैक्षिक सत्रमा दुई विद्यालय थप गरिएको हो।
टोखा नगरका प्रमुख कार्यकारी अधिकृत शङ्करराज पाठकले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने नीति लिइएको बताए।

‘एक वडा, एक सामुदायिक विद्यालय निर्माण गर्ने नीति नगरले लिएको छ, सोही नीतिअनुसार अब चाँडै नै वडा नं ५ र ९ मा पनि सामुदायिक विद्यालय स्थापना गर्छौं’, उनले भने।

टोखाले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति लिएको उनको भनाइ छ।
पछिल्लो समय टोखाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामासमेत वृद्धि हुँदै गएको छ।

वि.सं २०७४ मा टोखाका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या तीन हजार ५०० को हाराहारीमा रहे पनि अहिले उक्त सङ्ख्या बढेर छ हजार नाघेको छ।

हरेक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई विशेष अनुदान र नगरले विभिन्न कार्यक्रम अगाडि सारेका कारण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको टोखा जनाइएको छ।

यसैबीच विद्यार्थी बढ्दै गएपछि टोखामा शिक्षकको अभावसमेत हुन थालेको छ।
विद्यार्थीका सङ्ख्या बढ्दै जानु र शिक्षक दरबन्दी कम हुँदा टोखामा शिक्षकको अभाव भएको नगरका शिक्षा शाखा प्रमुख गौतमले बताए।

‘शिक्षक दरबन्दी कमी हुँदा विद्यार्थीलाई पठनपाठनमासमेत समस्या हुँदै आएको छ, शिक्षक कम हुँदा एउटै कक्षामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनु परेको छ’, उनले भने।

टोखामा शिक्षक दरबन्दी कमी भए पनि नगरले आफ्नै स्रोतमा नयाँ ३३ शिक्षक नियुक्त गरेर पठनपाठन गराउँदै आएको छ। नगरबाट थप भएका ३३ शिक्षक पनि अपुग भएको शिक्षा शाखा प्रमुख गौतमले बताए।

टोखाले शिक्षक दरबन्दी थप गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ।

यस्तै, टोखाले विद्यार्थीको सिकाइलाई सहज बनाउन स्थानीय सिकाई केन्द्रमा निःशुल्क इन्टरनेट सेवासमेत प्रदान गरेको छ। टोखाले गत वर्ष कोरोनाको महामारीको चपेटामा परेका बालबालिकालाई सिकाइ सहजताका लागि जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय झोर, झोर महाकांल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा इन्टरनेट सेवा प्रदान गरेको हो।

शैक्षिक क्यालेण्डरअनुसार पठनपाठन गराउँदै आएको टोखामा सामुदायिक विद्यालयका अलावा ८० संस्थागत विद्यालय र तीन वैकल्पिक विद्यालय रहेका छन्।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गर्दै आएको टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क गराउने जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com