Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

करणको प्रदर्शन सायदै कसैले भुल्नेछन्

१६ चैत, काठमाडौं । नेपाली क्रिकेटका लागि करण केसी नामै काफी छ । सन् २०१८ को फेब्रुअरी १४ मा क्यानडाविरुद्ध करणको प्रदर्शन सायदै कसैले भुल्नेछन् ।
त्यतिबेला क्यानडालाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको छनोटमा पुगेको थियो । तीव्र गतिका बलर करणले बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अर्को ऐतिहासिक सफलता हात पारे ।

त्रिकोणात्क टी-२० श्रृंखला अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले एकै खेलमा ह्याट्रिक विकेटसहित ५ विकेट लिए । अनि नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे । यस्तै करण टी-२० अन्तर्राष्ट्रियमा ५० विकेटको आँकडा पूरा गर्ने दोस्रो नेपाली बलर समेत बने ।

३।४ ओभर बलिङ गरेका उनले ५ विकेट लिएपछि २०५ रनको लक्ष्य पछ्याएको पीएनजी २ बल बाँकी छँदै १६६ रनमा अलआउट भयो र खेल नेपालले ३७ रनले जित्यो ।

नेपाल, मलेसिया र पीएनजीबीचको त्रिकोणात्मक श्रृंखलामा लगातार तीन जितपछि नेपाल एक खेल खेल्नुअघि नै फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा बलिङतर्फ सुरुवातदेखि नै छाएका करणले अन्तिमसम्म त्यसलाई कायमै राखे । उनले पहिलो ओभरमा लेगा सिएका र तेस्रो ओभरमा कप्तान असद भालालाई समान १ रनमा आउट गरे ।

अन्तिम ओभरमा त करणले जादु नै देखाए । १९ ओभर सकिँदा पीएनजी १६६(७ को अवस्थामा थियो । करणले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । करणको पहिलो बलमा चाड सपरले रन लिन सकेनन् । दोस्रो बलमा करणले सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । त्यसपछि सिमोन अटाईलाई बोल्ड गरेका करणले चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।

सन् २०१५ मा नेदरल्याण्ड्स विरुद्ध आम्सटलभिनमा टी(२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका करणले ३६ खेल खेल्दै ५४ विकेट लिएका छन् । यसअघि उनको उत्कृष्ट बलिङ प्रदर्शन नेदरल्याण्डस् विरुद्ध नै थियो । सन् २०१९ मा भएको खेलमा उनले ३।३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए ।

बिहीबारको खेलको म्यान अफ दि म्याच करणले खेलपछि आफ्नो लागि यो विशेष क्षण रहेको बताए । खेलपछि करणले भने, ‘आउँदा दिनमा पनि चार–पाँच पटक यस्तो गर्न सकूँ ।’

कप्तान सन्दीपले करणको प्रदर्शनलाई ‘ब्रिलियन्ट अचिभमेन्ट’ भनेका छन् । ‘क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि हुन्छ’, उनले भने ।

बिहीबारको खेलमा सोमपाल कामी र अविनाश बोहराले समान २ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

ब्याटिङमा भने दीपेन्द्र सिंह ऐरी र यसै खेलबाट डेब्यु गरेका आदिल अन्सारी चम्कँदा नेपालले ७ विकेट गुमाएर २०३ रन बनायो । दीपेन्द्रले ३३ बलमा ६६ रन बनाए भने आदिलले ११ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३१ रन जोडे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com