कुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु

२२ चैत,विराटनगर । कुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ कृष्णबहादुर मगरको मृत्यु भएको छ ।

स्थानीयका अनुसार मगरलाई हिजो बिहान ९ बजे कुकुरले टोकेको थियो । दायाँ खुट्टाको पिँडुलामा कुकुरले टोकेपछि उनी सडकमा ढलेका थिए । सडकबाट स्थानीयले उद्दार गरी नगर अस्पताल लगेका थिए ।
बेलबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । बेलबारी-१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार कोशी अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।