आजदेखि मुग्लिन–काठमाण्डौ सडक दैनिक ३ घण्टा बन्द हुने

पुष, ८ काठमाण्डौ । चितवनको मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले बताएको छ ।
त्यस्तै गाडी चलाउन रोक लगाएको समयमा एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीलाई नरोकिने पनि जानकारी दिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने ठूला गाडी गल्छी–बैरेनी र हलुका गाडी जरेखेतमा रोकिने छन् । त्यसैगरी चितवनतर्फ चालिसे र घाटबेँसीमा गाडी रोकिने छन् ।