आजदेखि पुस ५ गतेसम्म विभिन्न ठाउँमा विद्युत अवरूद्ध
मंसिर, २६ काठमाण्डौ । काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि पुस ५ गतेसम्म दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना निकालेर फरक–फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने बताएको छ ।
प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसबाट बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । बिहीवार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । त्यस्तै पर्सि शुक्रवार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिवार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले बताएको छ ।