Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

सिरियाका पूर्व राष्ट्रपति असद भागेर मस्को पुगे, रुसले उनलाई ‘शरण दिने’

राष्ट्रपति असद र पुटिन (फाइल फोटो)
तस्बिरको क्याप्शन,असद मध्यपूर्वमा रुसका प्रमुख साझेदार थिए (फाइल फोटो)

सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन्।

विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो। यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल-जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए।

सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि तस्बिर खिचेका छन्

त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया “मुक्त” भएको घोषणा गरेका थिए।

विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए।

रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको थिएन।

सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको बताएको थियो। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरिरहेका छन्।

सिरियामा नयाँ परिवर्तनपछि मिशीगनमा खुसी मनाउँदै एक सिरियाली अमेरिकी महिला

सामाजिक सञ्जालमा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई “पूर्ण रूपबाट स्वतन्त्र पारेको” बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका थिए।

विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन्

राजधानी कब्जापछि सिरियामा कसले के भने?

राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्
तस्बिरको क्याप्शन,राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र “सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको” बताएका छन्।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

“हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू – जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ,” उनले एक्समा लेखेका छन्।

“त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।”

एचटिएसका नेताले टेलिग्राममा लेख्दै सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।
तस्बिरको क्याप्शन,एचटिएसका नेताले सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी कार्यालयहरूमा प्रवेश नगर्न आदेश दिएका छन्

देशलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहेर देशमा सरकारको निरन्तरता कायम राख्ने काम “गर्न सघाउन तयार” रहेको बताएका थिए। उनले बशर अल-असद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको उल्लेख गरे।

सिरिया

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

अबु मोहम्मद अल-जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्। आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्‍याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्। वीवीसी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com