Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

माओवादी केन्द्रको निष्कर्ष- सरकारको प्रभावकारिता शून्य, उपचुनावको परिणामले एक्लै प्रतिस्पर्धा गर्ने आधार बन्यो

नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’

यसअघि पार्टीले जितेका रुकुम पूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रूपमा लिएको छ । अरु दल मिल्दा पनि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट,  उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरूलगायतमा विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई माओवादीले पार्टीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जितकै रूपमा लिएको उनको भनाइ छ ।

‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुवैको कुरा मिल्दै गएको छ,’ सापकोटाले भने, ‘जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’

‘अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दै छ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरूबाट पनि समीक्षा रिपोर्ट आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवर्द्धक भनेको छ,’ उनले भने ।

बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरूलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरूलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । त्यस्तै माओवादीले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको सापकोटाले जानकारी दिए ।

‘अहिले हामी सरकार फेरबदलमा लाग्दैनौँ, बरु ८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ,’ सापकोटाले भने, ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरूले थप अस्थिरता निम्त्याउन नपाऊन् भनेर पनि हाम्रो पार्टी २०८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’

माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा सरकारले गरिरहेको हस्तक्षेपको विरोध गरेको छ । ‘प्राधिकरणले महसुल उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ,’ सापकाटोले भने, ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रूपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com