मकवानपुर र सिराहामा करेन्ट लागेर दुई जनाको मृत्यु
मंसिर, २० काठमाडौँ । मकवानपुर र सिराहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मियाको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सिराहाको धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।