Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

वडा तहदेखि नै स्वास्थ्य सेवा सुधार गर्दै काठमाडौं महानगर

विद्यालय तहको शिक्षा र फोहोर व्यवस्थापनमा सर्वसाधारणले अनुभूति गर्ने गरी सुधार गरेको काठमाडौं महानगरपालिकाले अब स्वास्थ्य सेवाका क्षेत्रमा पनि महसुस हुने गरी काम गर्ने योजना अघि बढाएको छ । अस्पतालले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शøयाको १० प्रतिशत दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनेबाहेक अन्य ठुला उपलब्धि हासिल गर्न नसकेको महानगरले अब भने वडा तहदेखि नै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजना अघि बढाएको हो ।

महानगरले वडा तहको स्वास्थ्य सेवा विस्तारदेखि अस्पताल निर्माणसम्मको योजना अघि सारेको छ । जसअन्तर्गत पहिलो चरणमा सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रवद्र्धन केन्द्र स्थापना हुनेछन् । यस्तै आफ्नै फार्मेसी पनि यसै वर्षभित्र सञ्चालन गर्ने तयारी महानगरको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीले तल्लो तहदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेको र अब यसबाट स्थानीयस्तरमै आमनागरिकले गुणस्तरीय सेवा पाउने बताए । ‘स्वास्थ्यलाई तल्लो तहदेखि नै सुधार गर्न खोजेका छौँ, आफ्नो क्षेत्राधिकार र बजेटले भ्याएसम्म प्रभावकारी बनाउने योजना छ,’ उनले भने, ‘रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नम्बर १४ बल्खु, वडा नम्बर १९ कंकेश्वरी, वडा नम्बर २६ लैनचौर र वडा नम्बर ३० ज्ञानेश्वर स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई स्वास्थ्य बिमाको पहिलो सम्पर्क बिन्दुका रूपमा प्रयोगमा ल्याइसकेका छौँ ।’ उनका अनुसार अहिले तयार भएका पाँचवटामध्ये वडा नम्बर १० को प्राथमिक स्वास्थ्य केन्द्र एउटा हो । यससँगै वडा नम्बर १६, २७, १२ र ७ का प्रवद्र्धन केन्द्र बिमा कार्यक्रम सञ्चालन गर्न योग्य भएका छन् । बिमा बोर्डबाट अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइनेछ ।

महानगरवासीले अब वडा तहको उपचार सेवामा समेत बिमाबाट राहत महसुस गर्नेछन् । महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले वडा तहदेखि स्वास्थ्यमा सुधार गर्दा नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्न सकिने बताए । ‘आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ,’ उनले भने, ‘यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै लैजानेछौँ, सकेसम्म अस्पतालको सेवा लिन नपरेहुन्थ्यो, यसका लागि प्रवद्र्धनात्मक कार्यक्रम चलाएका छौँ ।’

वडा १० ले सञ्चालन गरेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा गर्भ र सुरक्षित मातृत्वसँग सम्बन्धित समस्या, कलेजो, मिर्गौलासम्बन्धी समस्यासहितका भिडियो एक्स–रे सुविधा पनि छ । अन्य वडामा पनि यो सेवा विस्तार गर्ने योजना अघि सारेको विभाग प्रमुख केसीले जानकारी दिए । महानगरपालिकाले चालू आर्थिक वर्षमा सबै वडा तहमा स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा प्राथमिक स्वास्थ्य निर्माणका लागि ३० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै अघिल्लो वर्षदेखि नै सुधारका प्रयास सुरु गरेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड ०७७, परिच्छेद २४ दफा ७० (घ) अनुसार निजी अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत दिनुपर्ने व्यवस्था कार्यान्वयन भइसकेको छ । नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com