इजरायली आक्रमण ‘नरसंहार’ भएको लेबनानको प्रतिक्रिया
लेबनानको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा भइरहेको आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’ भएको प्रतिक्रिया दिएको छ । दुई दिनदेखि लेबनानमा हिजबुल्लाह समूहलाई लक्षित गरी इजरायलले आक्रमण बढाएपछि कयौँ व्यक्तिले ज्यान गुमानुका साथै लेबनानका अस्पतालहरू घाइतेहरूले भरिएका बीबीसीले जनाएको छ ।
इजरायली आक्रमणमा पछिल्लो दुई दिनमा मात्रै अहिलेसम्म ५ सय ५० जनाभन्दा धेरै मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका समेत रहेका खबरमा उल्लेख छ ।
हिजोको आक्रमणमा हिजबुल्लाहका रकेट फोर्सका प्रमुखलाई मारेको इजरायली सेनाले दाबी गरेको छ । हिजबुल्लाहले ३ सय रकेट प्रहार गरेको भए पनि लेवनानमा जस्तो क्षति इजरायलमा नभएको तर केही सेना घाइते भएका इजरायलको भनाइ छ ।
यसैबीच, पश्चिम एशियाको इजरायल–लेबनान सीमा क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएका छन् । गएको वर्ष अक्टोबर ७ देखि इजरायल–हमास सङ्घर्ष शुरू भएदेखि नै सीमा क्षेत्रबाट लेबनानका मानिसहरू विस्थापित हुन थालेका थिए । त्यसयता अहिलेसम्म दुई लाख लेबनानीहरू विस्थापित भइसकेका बीबीसीको खबरमा उल्लेख छ । एजेन्सी