अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने
जुम्ला – अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी बीचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । रासस