Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ओडिसामा मालवाहक रेल दुर्घटना

भारतको पूर्वी राज्य ओडिसामा फेरि अर्को रेल दुर्घटनामा परेको छ।

टाइम्स अफ इन्डियाका अनुसार ओडिसाको बारगढ जिल्लामा सोमबार बिहान एउटा मालवाहक रेलका पाँच डिब्बा लिकबाट बाहिर गएका हुन्।  उक्त रेल एउटा फ्याक्ट्रीको चुनढुंगा बोकेर  गुडिरहेको थियो। 

दुर्घटनामा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरू अहिले दुर्घटनास्थलमा पुगेका छन्।

यसअघि गत शुक्रबार साँझ ओडिसाको बालासोर स्टेशनमा रेल दुर्घटना भएका थिए। दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७५ पुगेको छ।

स्थानीय समयअनुसार शुक्रबार साँझ सात बजे बालासोर स्टेशनमा दुई वटा रेल निर्धारित समयमै आइपुगेका थिए।

तर कलकत्ताबाट चेन्नई जान लागेको कोरोमान्डेल एक्सप्रेसको रेल अचानक मुख्य लाइन छोडेर लुप लाइनमा गयो। कोरोमान्डेलको गति त्यतिबेला ११० किलोमिटर/प्रतिघन्टाभन्दा बढी थियो।

लुप लाइनमा एउटा मालवाहक रेल रोकिएको थियो। तीव्र गतिमा आएको कोरोमान्डेल एक्सप्रेसको रेल मालवाहक रेलसँग ठोक्कियो। त्यसका सबै डिब्बाहरू लिकबाहिर निस्किए।

त्यही बेला यसवन्तपुरबाट हाउडा जान लागेको हाउडा सुपरफास्ट एक्सप्रेसको रेल आइपुग्यो। मेन लाइनमा विपरीत दिशाबाट गुडिरहेको हाउडा सुपर एक्सप्रेसको रेलका पछाडिका डिब्बामा मालवाहक रेलसँग ठोक्किएको कोरोमान्डेल एक्सप्रेसको रेलका केही डिब्बा ठोक्किए।

भारतीय रेलवे बोर्डकी सदस्य जया वर्मा सिन्हाले आइतबार आयोजित पत्रकार सम्मेलन दुबै रेल हरियो संकेत पाएर निर्धारित गतिमा स्टेशनमा पुगेको बताइन्।

उनका अनुसार दुबै रेल मेन लाइनबाट पास हुने संकेत दिइएको थियो। तर कोरोमान्डेल एक्सप्रेसको रेल मेन लाइनबाट लुप लाइनमा कसरी पुग्यो भन्ने कारण पत्ता लागेको छैन।

‘इन्जिनमा खराबी भएर रेल लुप लाइनमा गएको देखिन्न। संकेतमै कुनै समस्या भएर हुन सक्छ,’ सिन्हाले भनिन्,‘कारण जेसुकै भए पनि अनुसन्धानबाट पत्ता लाग्ने छ।’

दुई यात्रुवाहक रेलमा  झन्डै २ हजार मानिस सवार थिए।

शुक्रबारको दुर्घटनापछि अहिले भारतीय सामाजिक सञ्जालमा त्यसैको चर्चा छ। शवहरू उठाएर थुपारेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्।

शवहरू उठाएर राखेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्। अधिकारीहरूले पहिचान हुन नसकेका शवको डिएनए परीक्षण गरिने बताएका छन्।

दुर्घटनास्थलबाट अन्य रेललाई आवातजावत गर्न दिनका लागि अहिले ठोक्किएका रेलका डिब्बा हटाउने काम भइरहेको छ।

सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख, गम्भीर घाइते हुनेलाई २ लाख र सामान्य घाइते हुनेलाई ५० हजार भारू क्षतिपूर्ति र उपचार खर्च दिने घोषणा गरेको छ।

भारतका विपक्षी दलका नेताहरूले भने अहिलेको दुर्घटनामा नरेन्द्र मोदी सरकारको नीति दोषी रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीको प्राथमिकतामा वंदे भारत एक्सप्रेसका रेलमात्र परेको र अरू रेलको पूर्वाधारमा सुरक्षाका मापदण्ड पूरा नगरेकाले दुर्घटना भएको उनीहरूको आरोप छ।

भारत संसारमै सबैभन्दा ठूलो रेलवे सञ्जाल भएका मुलुकमा पर्छ। औसतमा दैनिक २५ लाख भारतीयले रेलमा यात्रा गर्छन्।

पुराना भइसकेका रेलका पूर्वाधार र त्यसमा अत्याधुनिक सुरक्षा मापदण्ड प्रयोग गर्न मोदी सरकार उदासिन रहेको तृणमूल कंग्रेसका नेता अभिषेक बेनर्जीको आरोप छ।

‘केन्द्र सरकार विपक्षी नेताको जासुसी गर्न करोडौं रुपैयाँ खर्च गरिरहेको छ। तर यस्तो दुर्घटना रोक्नका लागि रेलमा एन्टीकोलिजन डिभाइस लगाउने आवश्यकतालाई नजरअन्दाज गरिरहेको छ,’ उनले भने।

केहीले रेल मन्त्री वैष्णवको राजीनामा मागेका छन्। यसअघि पनि रेल दुर्घटना हुँदा नैतिकताका आधारमा मन्त्रीले राजीनामा दिएका उदाहरण छन्।

सन् १९५६ मा लगालग दुइटा रेल दुर्घटना भएपछि तत्कालीन रेल मन्त्री लालबहादुर शास्त्रीले  नैतिकताका आधारमा राजीनामा दिएका थिए। पहिलो दुर्घटनामा प्रधानमन्त्री जवाहरलाल नेहरूले उनको राजीनामा अस्वीकृत गरे पनि त्यही वर्ष नोभेम्बर दोस्रो रेल दुर्घटनामा दर्जनौं यात्रुको ज्यान गएपछि उनले दिएको राजीनामा स्वीकृत भएको थियो।

सन् १९९९ मा असममा भएको रेल दुर्घटनामा परी २९० जनाको ज्यान गएपछि तत्कालीन रेल मन्त्री नितिशकुमारले पनि नैतिकताका आधारमा राजीनामा दिएका थिए।

अरू विभिन्न दुर्घटनामा पनि मन्त्रीहरूले राजीनामा दिए पनि उनीहरूको राजीनामा स्वीकृत भएको थिएन। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com