Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन्।

बुधबार राती नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने बताए।

नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गरे। उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत आग्रह गरे।

नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील रहेको बताए।

प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गरे।

कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उनले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पारे ।

 सेवा प्रवाहलाई थप सरल र जनपक्षीय बनाउन सरकार लागिपरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको र शून्य सहनशीलताको नीति अख्तियार गरेको जानकारी गराए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com