Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

काठमाण्डौ – सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । ‘साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ,’ साइकल चलाउन सिक्दै गर्नुभएकी स्याङ्तानले भन्नुभयो ।

रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ । तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म एक घण्टाको बाटो साँघुरो र कच्ची भएकाले साइकल डोर्याएर हिँड्नुको विकल्प नभएको उहाँले बताउनुभयो । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राख्नुभएका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब छाेरीलाई साइकलमा आउजाउ गराउने सोचमा हुनुहुन्छ । घरबाट विद्यालय पदैल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियोे ।

‘पालिकाले दिएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन् । छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो,’ सिंहले भन्नुभयो ।

मरिणले गरेको कार्यको उहाँले प्रशंसासमेत गर्न भ्याउनुभयो । मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उहाँको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उहाँको धारणा छ । 

मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख रुपैयाँ दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउनुहुन्छ । उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँपालिकाले शनिवार साइकल दिएको भए पनि छात्रा पैदल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ । आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ ।’

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दैै लगिने छ ।

छात्राले एसईई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com