Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बालुवाटारमा प्रचण्ड-रवि संवाद: भ्रष्टाचारको फाइल खोलेँ, सरकारमा आउनूस्: प्रचण्ड, निर्णय गरिसक्यौं अब आउँदैनौं: रवि

काठमाडौं- प्रधानमन्त्री प्रचण्ड: ‘तपाईंले भ्रष्टाचारको फाइल खोल्नूस भन्नुभयो। मैले धमाधम फाइल खोलेँ तर तपाईंले सरकारलाई दिएको समर्थन नै फिर्ता लिनुभयो। अब फाइल खुलिसकेको छ। सरकारमा आउनुस्।’ 

रवि: ‘सरकारले अहिले जे गरेको छ, राम्रो गरेको छ। खुट्टा नकमाई दह्रो भएर सबैमाथि अनुसन्धान गर्नुहोला। सरकारलाई साथ पनि छ, स्याबास पनि छ।’ 

हाँस्दै प्रचण्ड: ‘सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका अजेन्डा लिएको छ। यसमा सरकारलाई सहयोग गर्नुहोस्।’ समर्थन फिर्ता मैले फाइल खोलेपछि लिनुभयो। यो संयोग नै त होला।’ 

यो संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच शुक्रबार बिहान बालुवाटारमा भएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  लामिछाने पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। रास्वपाले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

बिहान ८ बजे नै लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए। उनीहरुका बीचमा करिब ३० मिनेट कुराकानी भएको रास्वपाका एक नेताले बताए। भेटमा अहिलेको परिस्थिति, भ्रष्टाचारका विषयमा भइरहेको अनुसन्धान र सरकारलाई सहयोग गर्ने विषयमा कुराकानी भएको ती नेताले बताए। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र रास्वपा अध्यक्ष लामिछानेका बीचमा सरकारलाई सहयोग गर्ने र अहिलेको समसामायिक विषयमा कुराकानी भएको बताए। 

प्रधानमन्त्रीलाई भेट्न पुगेका लामिछानले भ्रष्टाचारमा सरकार जसरी अघि बढेको छ, यो प्रशंसायोग्य भएको भन्दै यसमा आफू र आफ्नो पार्टीको साथ रहेको बताए। 

‘प्रधानमन्त्रीज्यूले जुन आँट गर्नुभएको छ, यसमा  म धन्यवाद दिन चाहन्छु। अब थप अघि बढ्नुहोला। रास्वपा साथमा छ’ भनेर प्रधानमन्त्रीलाई बताएको प्रेस सल्लाहकार आचार्यले बतााए।

भेटमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता लिने कार्यका बारेमा पनि लामिछानेसँग चासो राखेका थिए। प्रधानमन्त्रीले समर्थन फिर्ता लिने निर्णय संयोग नै नभएको भन्दै आफूले जनताको पक्षमा काम थाल्नु अनि तपाईंहरु सरकार बाहिर जानु एकै पटक हुँदा अलि नमिलेजस्तो भएको टिप्पणी गरेका थिए।

उनले आफू भ्रष्टाचारविरुद्ध सधैं कठोर भएको र यस पटक पनि भ्रष्टाचारी र नक्कली शरणार्थी प्रकरणमा जोसुकै र जुनसुकै लेभलको संलग्नता भएपछि आफूले नछोड्ने बताए। उनले गृहमन्त्रीलाई पनि कुनै दबाब नदिने बताएको भन्दै कतैबाट प्रभावित नभई जनताका लागि काम गर्ने मौका आफूलाई भएकाले त्यही अनुरुप काम गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा आउन आग्रह गरे। उनले नयाँ जोस र जाँगर भएको रास्वपाजस्तो दल र नेताहरुसँग सँगै काम गर्न चाहेको भन्दै सरकारमा सहभागी हुन उनले आग्रह गरेका थिए। तर लामिछानेले अहिले सरकारमा नजाने दलले निर्णय गरिसकेको जवाफ दिए।

लामिछानले जनताले सरकारमा जानेभन्दा प्रतिपक्षमा बस्न जनमत दिएको र यहीँबाट सरकारलाई सहयोग गर्ने उनले बताए। उनले सरकारलाई उसको कामको आधारमा समर्थन  र आलोचना गर्ने र राम्रो काम गरेमा सधैं प्रशंसा र साथ पनि दिने बताए। भेटमा क्रममा भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री निकै आत्मविश्वासी भएको पाएको उनले बताए। नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com