Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

आठ वर्षमा मरे दुई सय बीस गैँडा

  

चितवन – गएकाे आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २ सय २० वटा गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि अहिलेसम्ममा ती गैँडा मरेका हुन् ।

निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको अवधिमा ५१ वटा गैँडा मरेका छन् । यस्तै, बाघको आक्रमणबाट २०, चोरी सिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परेर तीन, विषाक्त खानेकुरा खाएर पाँच तथा कारण नखुलेका २९ वटा गैँडा मरेका उहाँले जानकारी दिनुभयो ।

तिवारीका अनुसार गएकाे आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ वटा गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम  आव २०७२/७३ मा १४ गैँडा मरेका तिवारीले बताउनुभयो । तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको अहिलेसम्म १६ गैँडा मरेका भेटिएका उहाँले जानकारी दिनुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३ सय २३ वटा गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बुढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताउनुभयो । गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com