Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

अयोग्य लडाकुलाई दुई–दुई लाख दिन कार्यविधि पास 

अर्थ मन्त्रालयले छुट्यायो एक अर्ब ४० लाख 

सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको छ । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो । कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ । लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । र, जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । सोही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँ राहत रकम दिने कार्यविधि पास भएको जानकारी दिए । ‘अयोग्य लडाकुलाई राहतस्वरूप दुई–दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने कार्यविधि पास भएको छ । सोही कार्यविधिअनुसार लडाकु पहिचान गरिनेछ । र, उनीहरूको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइनेछ,’ उनले भने ।

 जितेन्द्र बस्नेत, प्रवक्ता, गृह मन्त्रालय
अयोग्य लडाकुलाई राहतस्वरूप दुई–दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने कार्यविधि पास भएको छ । सोही कार्यविधिअनुसार लडाकु पहिचान गरिनेछ । र, उनीहरूको बैंक खातामार्फत राहत रकम उपलब्ध गराइनेछ ।

कार्यविधिअनुसार आयोग्य लडाकु पहिचानको आधार अनमिन -युनाइटेड नेसन मिसन इन नेपाल-ले तयार गरेको प्रतिवेदनलाई आधार मानिनेछ । प्रतिवेदनमा उल्लेख भएका अयोग्य लडाकुको नाम, उपनाम र जिल्ला पहिचान गरिनेछ । विवरण रुजु गराउन सम्बन्धित जिल्लामा लडाकुका नाम र उपनाम पत्रचार गरिनेछ । जिल्लाले सोही विवरणका आधारमा लडाकु पहिचान गर्नेछ । यसका लागि गृहले लडाकुसहित सहभागी भएको एक कार्यदल गठन गर्नेछ । कार्यदलले सम्बन्धित लडाकुको जन्मस्थान पुगी सर्जिमिन गराई प्रमाणित भएको विवरण प्रशासनले गृह पठाउनेछ । 

कार्यविधिको परिच्छेद ३ को बुँदा ३ को उपबुँदा १ मा भनिएको छ, ‘गृह मन्त्रालयले अनमिनको प्रतिवेदनमा उल्लेख भएका लडाकुको नाम, उपनाम तथा अन्य विवरण र बहिर्गमित जनमुुक्ति सेना नेपालले उपलब्ध गराएको लडाकुको विवरणलाई संयुक्त रूपमा जिल्लाअनुसार छुट्याई तत्तत् जिल्ला प्रशासन कार्यालय पठाउनेछ । र, पछिसम्म फरक नपर्ने गरी पहिचान भएका लडाकुको विवरण अनुसूची २ अनुसारको सिफारिस गृह मन्त्रालयमा पठाउनेछ ।’

जिल्लाबाट सिफारिस भई आएका विवरण गृहले अर्थ मन्त्रालय पठाउनेछ । अर्थले स्वीकृत गरेलगत्तै रकम निकासा गर्नेछ । निकासा भएका रकम गृहले सम्बन्धित जिल्लामा पठाउनेछ । र, लडाकुका लागि राहत रकम वितरण सुरु हुनेछ । कार्यविधिअनुसार पहिचान भएका लडाकुको मृत्यु भए राहत रकम उनका परिवारका सदस्यलाई दिइनेछ । विदेशमा रहेका 
लडाकुले भने नेपाल फर्किएका वेला राहत रकम लिन सक्नेछन् । 

सरकारले आव ०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि भनेर एक अर्ब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही रकम आयोग्य लडाकुको राहतमा खर्च गरिनेछ । राहत रकम लिन अर्थले गत २ चैतमै स्वीकृति जनाइसकेको छ । अयोग्य लडाकुलाई राहतस्वरूप दुई–दुई लाख रुपैयाँ दिने सम्बन्धमा आव ०७३/७४ को बजेटमै उल्लेख गरिएको थियो । तर, सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकारको योजना कार्यान्वयनमा आउन सकेको थिएन । सर्वोच्चले १ फागुन ०७८ मा लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय कानुनविपरीत नभएको फैसला गरेको थियो । त्यसपछि अयोग्य लडाकुलाई राहत रकम दिने कार्य खुला भएको थियो । नयाँ पत्रिका बाट

#अयोग्य लडाकु

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com