Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दुई सैन्य जनरलको टकराबले सुडानमा सुरु भयो युद्ध, सयभन्दा बढीको मृत्यु भइसक्यो

सुडानमा दुई सैन्य गुटबीच आपसी संघर्ष र टकरावका कारण देशभर अस्थिरता छाएको छ । देशका विभिन्न क्षेत्रमा सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच युद्ध हुँदा सोमबारसम्म सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

यस शक्ति संघर्षका क्रममा हजारभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् । आरएसएफले शनिबारदेखि सुरु भएको युद्धमा आफूले राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन, राजधानी खार्तुम, ओमदुरमेन शहर, पश्चिम दारफुर र मिरोय विमानस्थल कब्जा गरेको दाबी गरेको छ ।

सरकारी सेनाले भने आरएसएफको दाबी अस्वीकार गरेको छ । देशमा सैन्य नेतृत्वभित्र बर्चस्वका लागि भइरहेको यस लडाइँ झनै आक्रामक बनिरहेको छ । दुवै सरकारी सशस्त्र बलले एकअर्काको सैन्य बेसमा पनि आक्रमण गरिरहेका छन् ।

तीन दिनयता युद्ध जारी छ । सोमबार पनि बिहानैदेखि गोलाबारी भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् । खार्तुमलगायत विभिन्न क्षेत्रका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ ।

सन् २०२१ को अक्टोबरमा सैन्य जनरलहरूले कू गर्दै सुडानको सत्ता आफ्नो हातमा लिएका थिए । विद्रोहपछि सुडानमा सेनाका जनरलहरूले सार्वभौम परिषद्‍ भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।

हाल सरकारी सेनाविरुद्ध उत्रिएको आरएसएफ उक्त परिषद्‌का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ ।

सेनाको नेतृत्वमा जनरल अब्देल फताह अल–बुर्हान रहेका छन् । उनी सार्वभौम परिषद्‌का प्रमुख पनि हुन् ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने भएको छ । आरएसएफले १० वर्षपछि मात्र सेना समायोजन गरिनुपर्छ भन्ने माग गर्दा सरकारी सेनाले भने दुई वर्षभित्रै सेना समायोजन गर्नुपर्ने बताउँदा त्यहाँ शक्ति संघर्ष भएको हो ।

सेना समायोजनपछि देशको सेना प्रमुख को हुने भन्नेबारेमा पनि डगालो र बुर्हानबीच विवाद छ । आरएसएफका सदस्यहरूलाई देशैभरि पुनः तैनाथ गरिएपछि सेनाले त्यसलाई खतराको रूपमा हेरेको थियो ।

आरएसएफ अर्ध सैन्यबल सन् २०१३ मा सुडानको तत्कालीन सरकारले विद्रोहीहरूसँग लड्न खडा गरेको थियो । यस सैन्य बल सुडानी सशस्त्र बलअन्तर्गतको हिस्सा हो ।

हिंस्रक द्वन्द्व चर्किएपछि सरकारी सेनाले आरएसएफसँग वार्ता नगर्ने र युद्ध जारी रहने बताएको छ । शनिबारदेखि सुरु भएको द्वन्द्वमा कसले सुरुवातमा आक्रमण गर्‍यो भनेर खुलेको छैन । यद्यपि, दुवै समूहले एकले अर्कालाई सुरुवातमा गोली चलाएको आरोप लगाउँदै आएका छन् ।

यतिबेला पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुट्‍रेसले सैनिक जनरल बुर्हान र आरएसएफका जनरल डगालोसँग टेलिफोनमा कुरा गर्दै हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

बीबीसीको सहयोगमा

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com