Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पाइलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द, ५ सय ४३ यात्रु अलपत्र 

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।

अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।

निगम स्रोतका अनुसार, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, शनिबार राति ११:३० बजेको रद्द उडान आरए२२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले बताइन् ।

शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।

अस्वस्थता कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौं स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले बताए ।

निगमसँग दुइटा वाइडबडी विमान छन् । यिनका लागि ६ जना को-पाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन । ‘केही पाइलट तालिममा, केही विदेशका स्टेसनमा नाइट स्टपमा, केही अर्को जहाजमा भएकाले शनिबार को-पाइलट नै पाइएन,’ वाइडबडी विमानका एक अर्को पाइलटले भने, ‘हाम्रो व्यवस्थापनले १०/१२ जना को-पाइलट तयार पारिसक्नुपर्ने तर राजनीतिक कार्यकर्ताले भरिएको व्यवस्थापनलाई उडान व्यवस्थापनको ज्ञान नै छैन । कता आर्थिक लाभ हुन्छ, त्यसैमा ध्यान छ । निगमको जर्जर अवस्था कसलाई सुनाउनु । हामी वाक्कदिक्क भइसक्यौं ।’कान्तिपुर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com