Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

खोलै सुकाएर बिजुली उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट बिजुली उत्पादन गर्ने क्रममा सिंगो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ।

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर बिजुली उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरू गरेका छन्।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए।

आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ, उनले भने, खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ। साप्सुखोलामा त्यस्तो देखिँदैन। यसले पर्यावरणमा असर पुगेको छ।

२०७८ मंसिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६।६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवर्द्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

राजापानीको बेलडाँडास्थित विद्युत गृहबाट उत्पादित बिजुली २।५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। १० स्थानीय तह रहेको जिल्लाबाट यो ९साप्सुखोला जलविद्युत आयोजना० सँगै तीन जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्।

साप्सुखोला जलविद्युत आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन। जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापेजस्तो बनेको स्थानीय बासिन्दाले बताएका छन्।

स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवर्द्धक कम्पनीका आयोजना प्रमुखलाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरि घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए।

ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ। आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरि घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु, उनले भने, प्रवर्द्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रूपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ।

कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले पनि कमजोरी स्वीकार गर्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए।
ुड्याम वरिपरि घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ। विविध कारण ढिलो भएको छ, उनले भने, सिडियो साबसँग पनि कुरा भएको छ। अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौं।

करिब एक अर्ब ५० करोड रूपैयाँ लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ। चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर बिजुली उत्पादन गरिएको हो।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com