विष्फोटक पदार्थ पड्किएर दुई जना घाइते
फागुन,१० काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर–३३ ठूल्ढुंगामा हिजो विष्फोटक पदार्थ पड्किएर दुई जना किशोर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय १३ वर्षीय सविन तामाङ र १५ वर्षीय माइकल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
खेल्ने क्रममा नजिकै रहेको झाडीमा नौलो वस्तु देखा परेपछि उनीहरूले घरमा लिएर आएका थिए। घरमा ल्याएपछि के होला भन्ने कौतुहलता लागेर खेलाउने क्रममा विष्फोट हुँदा उनीहरू घाइते भएको प्रहरी श्रोतले बताएको छ।
घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये माईकल चौधरीको गए राती नै शल्यक्रिया गरिएको छ भने सविन तामाङको शल्यक्रिया गर्ने तयारी छ। घाइतेहरूको हात र खुट्टामा सिसा, फलामलगायतका वस्तुहरू गढेर बसेकाले सो वस्तु शल्यक्रिया गरेर निकालिएको कास्की प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।