Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

नयाँ बसपार्कमा भएको तोडफोड र लुटपाटको गम्भीर अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौको गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।

आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका सुरक्षा अधिकारीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले त्यति ठूलो घटना हुँदा पनि सुरक्षा निकायको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टिसमेत पोख्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाको जतिसक्यो चाँडो अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । लुटपाटको घटनाले समाजमा त्रास सिर्जना गरेको भन्दै उहाँले गल्ती गर्ने जो कोही पनि कारबाहीमा पर्छन् भन्ने सन्देश दिन पनि आग्रह गर्नुभयो ।

जवाफमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले घटनाको अनुसन्धान भइरहेको र केही शङ्कास्पद व्यक्ति पक्राउ परेको समेत जानकारी गराउनुभएको छ । घटना पूर्वानुमान गरेको भन्दा निकै फरक भएकाले सुरक्षा अङ्ग चुकेको पनि उहाँले बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको सोमवार यातायात मजदुरहरूले ट्राफिक नियमका विरुद्ध सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए । तर सरकार र यातयात मजदुरबीच ट्राफिक नियमबारे सहमति भइसकेपछि पनि प्रदर्शन उग्र बनेको थियो । प्रदर्शनकारीहरूले प्रहरीका भ्यान र प्रहरी बिट जलाउनुको साथै नयाँ बसपार्कमा रहेको ल्होत्से मलका पसलमा लुटपाट गरेका थिए ।

यसैबीच सांसदरूले गएको सोमवार काठमाण्डौको नयाँ बसपार्कमा भएको लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद सूर्य थापाले नयाँ बसपार्क बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाण्डौको मुख्य भागमै भएको घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताउनुभयो । यस्तै सांसद विराजभक्त श्रेष्ठले काठमाण्डौको गोङ्गबु बसपार्कमा भएको लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोङ्गबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शङ्कर भण्डारीले गोङ्गबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com