Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बाग्लुङ–बेनी सडक खण्ड : जताततै खाल्डाखुल्डी, यात्रुलाई सास्ती

बाग्लुङ – बाग्लुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडकको अवस्था जीर्ण भएको छ । यो सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको छैन । कालोपत्र उप्किएको छ ।

बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिरोले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।

यस्तै रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो । वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउनुहुन्छ । गुणस्तरीय काम हुन सकेको छैनु, उहाँले भन्नुभयो । कुडुँलेमा नाली छ, तर सडक कालोपत्र भएको छैन । रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ ।

बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बाग्लुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउनुहुन्छ । मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछु, उहाँले भन्नुभयो । रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ । बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ ।

सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ, उहाँले भन्नुभयो । रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो । अझै त्यो काम सम्पन्न हुन सकेको छैन । १२ करोड १७ लाख रुपैयाँको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बीएन जेभीले लिएको छ ।

बाग्लुङका प्रायजसो कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन् । कुँडुलेबाट रत्नेचौरसम्मको सडक २० लाख रुपैयाँको लागतमा ठेक्कामार्फत् मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला गाडी वैकल्पिक मार्ग बाग्लुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com