Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन्।

यसअघि नारायणी नदीवारि रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारी सुरु भएपछि उत्साही बनेका हुन्।

जङ्गल सफारीमा आउनेलाई नारायणीमा डुङ्गा शयरसहित निकुञ्ज क्षेत्रमा जीप सफारी गराउँदा पर्यटकको संख्या बढ्ने भएपछि आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताए।

‘पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्’, उनले भने। नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमासमेत जीप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताए।

‘हामी खुसी छौं, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ’, अध्यक्ष महतोले भने। उनका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ।

यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै पर्यटक लैजाने अनुमति पाएका थिए। अब अमलटारीबाट गैंडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।

शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताए।

नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमकाबीच शनिबार निकुञ्जमा सफारीको सुरुवात गरेको थियो। नवलपुर क्षेत्रबाट प्रतिदिन पाँचवटा जीपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन्। होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन्। हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ‍। निकुञ्जमा जीप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com